निषेधाज्ञा भएपछि रामेश्वरको चिन्ता : आमाले के खानु भयो होला?
काठमाडौं। वीरगञ्जका रामेश्वर साहलाई आजभोली छाक टार्न धौधौ भएको छ। एउटा साइकलमा फलफूल राखेर गल्ली गल्ली घुमाउँदै आफूलाई काठमाडौंमा बस्ने वातावरण बनाउन सफल भएका साह कोरोनाको पहिलो लहरमा पनि त्यतिकै प्रभावित भएका थिए।
गौरीघाटको एउटा सानो कोठामा साथीहरुसँग बस्छन् उनी। सबै साथीहरु साइकलमा व्यापार गर्ने नै छन् उनीसँग। ‘हामी सबै वीरगञ्जका हौं,’ रामेश्वरले भने, ‘पहिलो लकडाउनमा घर गएका थियौं। यो बेला जान पाइएन।’
भनिन्छ विपद बाजा बजाएर आउँदैन। कोरोनाको दोश्रो लहर पनि अनपेक्षित आयो। पहिलो लहरको कोरोना महामारीले सकिएको अनुभूति हुँदै जनजीवन सामान्य अवस्थामा आएको थियो। देशमा ठूलाठूला आन्दोलन, सभा समारोह पनि भए। शक्ति प्रदर्शनका कार्य पनि गरिए। घर गएका रामेश्वर र उनका साथीहरु फेरि काठमाडौं प्रवेश गरे।
‘उतै बस्ने भनेर घर गएका थियौं हामी,’ रामेश्वरले भने, ‘हामीलाई थाहै थिएन फेरि यस्तै हुन्छ भनेर। गत वर्ष असारमा घर गएका थियौं फेरि खुलेजस्तो, नखुले जस्तो भयो। हामी उतै बस्यौ। सबै तिर कार्यक्रम हुन थाल्यो, हामी पनि गाडीमा काठमाडौंको कार्यक्रम हेर्न आएर यतै बस्यौं चैतसम्म त व्यापार गरेको हो।’
अहिले पनि थोरै थोरै फलफूल राखेर बाटोमा निस्किन्छन्। मुखमा मास्क लगाए पनि हातमा लगाएको पञ्जा भने विहानदेखि बेलुकीसम्म एउटै हुन्छ। कालो मैलो भएको देखिन्छ। दैनिकी फेरिएको छ उनको। पहिला स्याउ, अंगुर, केरा भन्दै गल्ली गल्ली हिड्ने बेलामा दिनमा आफ्नो सबै खर्च उठाएर औषत ३ हजार बचाउने गर्थे तर, अहिले छैन।
‘कहिल्यै कम हुन्थ्यो, कहिल्यै बढी हुन्थ्यो। ४ हजार, ३ हजार कहिले बढ्थ्यो कहिले २ हजारमा पनि चित्त बुझाउनु पथ्र्यो,’ उनी आफ्नो कथा सुनाउँदै थिए। ‘घरमा आमा छ हुनुहुन्छ, बुवा हुनुहुन्न। भाइ र बहिनी पढिरहेका छन्। हामीले यहाँबाट पैसा पठाएपछि आमाले खाने हो। अहिले धेरै भयो पठाउन पाएको छैन के अनु भयो होला।’
कोरोनाको पहिलो लहरमा घर गएका उनी लामो समयदेखि बेरोजगार भएर बसे। जब काठमाडौं आए अनि आफ्नो काम थालेका उनले निषेधाज्ञा जारी नहुँदासम्म कहिल्यै पनि कोरोनाको बारेमा सोचेनन्। उनलाई कोरोना भयो भएन भन्ने पनि थाहा छैन। अहिलेसम्म विरामी भएका छैनन्। ‘विरामी भएर सुतेको छैन, जहिले काम गर्छु,’ उनले भने।
नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लागेका बेला रामेश्वर जस्ता दिनभरी काम गरेर छाक टार्नेको दैनिकी ओरालो लागेको छ। न सरकारबाट राहतको उनीहरुलाई अपेक्षा छ न त अरु कुनै विकल्पको। हरेक दिन निषेधाज्ञा खोलेपछि फेरि स्याउ, केरा, अंगुर भन्दै गल्ली गल्ली हिँड्न रहर छ उनलाई। फेरि सबैले हेपेर बोलेको ‘भैया’ भन्ने शब्द सुन्न रहर छ।
‘हामीलाई सबैले भैया भन्छ,’ उनी मुस्कुराउँदै थिए, ‘नराम्रो लाग्दैन, हाम्रो नाम नै हो। सबै तराइबाट आएकालाई काठमाडौंमा भैया नै भन्छ, त्यसैले हामी पनि भैया भनेपछि केही रिसाउँदिन। यो बन्द खुलेपछि हामी फेरि व्यापार गर्न पाउँ भन्ने सोचेका छौ’
काठमाडौंमा काम गर्न लागेको झण्डै ५ वर्ष भएछ रामेश्वरको। आफ्ना काकासँग काठमाडौं आएका उनी सुरुवातीदिनमा काकासँगै हिँडे। नेपाली बोल्न नजान्ने उनको व्यापार पनि काकाले नै गर्थे। काकाले राखेको फलफूल उनको साइकलमा हुन्थेन। उनको साइकलमा भएको फलफूल कसैले किन्न चाहेको अवस्थामा काकाले नै डिल गर्थे, बेचिदिन्थे।
अहिले उनले काकाको छोरालाई त्यसैगरी आफूसँग हिडाउँछन्। ‘दिदी भनेर बोलाउनु पर्छ। कोही घरमा आमा हुनुहुन्छ, आमा भन्दा रिसाउनु हुन्छ, फेरि त्यो घरमा गएपछि हामी दिदी भनेर बोलाउँछ।’ आफूले दैनिकी धेरै प्रकारका मान्छेसँग भेटघाट गर्ने उनले सुनाए। कोही कसैले मिठो बोल्छन्। उनीहरुलाई खुसी लाग्छ। कोही मिठो बोलेरै उनीबाट स्याउ र केरा थप लगेर गएको पनि पत्तैै पाउँदैनन्। तर, जसले रुखो बोल्छ उसलाई एक ग्राम पनि बढेर बेच्दैनन् उनी।
‘हामी आफ्नो काम गरेर खाएको। कसैले दिएको हैन नि, अनि किन थर्काउने। त्यस्तो भयो भने हामीले बेच्दैन। नलैजानुस्, अर्कोमा हेर्नुस् भन्छ,’ उनी आफ्नो व्यापारमा आउने दैनिक समस्याहरुको बारेमा भन्दै थिए।







डिसी नेपाल








Facebook Comment