प्रधानमन्त्री ओलीले महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेमा आश्चार्य चकित छुः वामदेव

डिसी नेपाल
२२ जेठ २०७८ १५:५४
352
Shares

काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन्। उनले शुक्रबार शपथ ग्रहण गरेको केही मिनेटमै आफूले बहुल राष्ट्रका लागि मुक्ति आन्दोलन गर्न आफूहरु सरकारमा समावेस भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

जसपाको एउटा समूह महतोकै नेतृत्वमा शुक्रबारदेखि सरकारमा गएको छ। र महतोले विवादास्पद अभिव्यक्ति दिएका छन्। उनको अभिव्यक्तिलाई लिएर तिब्र आलोचना भइरहेका छन्।

यसैक्रममा एमाले नेता वामदेव गौतमले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनभिज्ञता प्रकट गरेकोमा आफू आश्चार्य चकित भएको बताएका छन्। शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै गौतमले भनेका छन्, ‘ राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ। प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु।’

गौतमको स्टाटस

नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु। नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो। राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन। नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन। राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ। प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.