के यो राष्ट्रपति जो बाइडेन र अमेरिकाका लागि धक्का हो ?

डिसी नेपाल
२३ जेठ २०७८ १५:१८
3.7k
Shares

काठमाडौं। चीन र भारतबीच जारी तनावका बीच भारतको समर्थन र चीनको कडा आलोचना गरिरहेको अमेरिकालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घुमाउरो भाषामा कडा सन्देश पठाएका छन् । पुटिनले चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘जिम्मेवार’ नेता भएको बताउँदै यी दुई आपसी असमझदारीलाई सुल्झाउन सक्षम भएको बताए । समाचार एजेन्सी पीटिआइसँग कुरा गर्दै पुटिनले भारत र चीनको बीचमा कसैले दखल दिनु जरुरी नभएको बताए ।

रुसी राष्ट्रपति पुटिनको यो भनाइलाई अमेरिकी राष्ट्रपतिलाई लक्षित गरी दिइएको सुझावको रुपमा लिइएको छ । खासमा हालै बनेको भारत, अमेरिका, जापान र अस्ट्रेलिया सम्मिलित क्वाड संगठनप्रति चीनको आपत्ति छ । उसले यो संगठनको माध्यमबाट अमेरिकाले यस क्षेत्रमा दखल बढाइरहेको आरोप लगाएको छ । यो संगठनमार्फत अमेरिका रणनीतिक रुपले अहम हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई नियन्त्रित गर्ने प्रयासमा रहेको चीनको आरोप छ । यो संगठनमा अमेरिका हुनु चीनको लागि सबैभन्दा आपत्तिको विषय हो किनकि अमेरिकाबाहेक अन्य देशहरुसँग चीनको जमिन वा सामुद्रिक सीमा जोडिन्छ ।

क्वाड संगठनको रुस पनि आलोचक हो । पुटिनले भनेका छन् ‘कुनै राष्ट्र अन्य २ वा सोभन्दा बढी देशहरुको बीचका मुद्दामा पहल गर्नको लागि कसरी सहभागी हुन्छ र ती देशहरुसँग कसरी सम्बन्ध बनाउँछ भन्ने कुरा तय गर्नु वा आंकलन गर्नु रुसको काम होइन । तर कुनै पनि साझेदारी कुनै अर्को देशका विरुद्ध गरिनु पनि सही होइन ।’ क्वाड संगठनका बारेमा चीनको धारणाले रुसको दृष्टिकोण परिवर्तन नहुने बताउँदै उनले यो विवादका कारण रुसको भारत र चीनसँगको सम्बनधमा कुनै प्रभाव नपर्ने र कुनै विरोधाभास नहुने बताए ।

पुटिनको यो भनाइ अमेरिकी राष्ट्रपति जो बाइडेनको लागि ‘भारत र चीनको बीचमा नआउनू’ भन्ने सन्देशको रुपमा हेरिएको छ । पुटिनले भनेका छन् ‘मलाई थाहा छ भारत र चीनबीच केही मुद्दालाई लिएर सम्बन्ध ठिक छैन । तर, छिमेकी देशहरुमा यस्ता कुरा भइरहन्छन् । म व्यक्तिगत रुपमा प्रधानमन्त्री मोदी र राष्ट्रपति जिनपिङलाई चिन्छु । उहाँहरुको स्वभाव थाहा छ । दुवै जिम्मेवार नेता हुन् र एक अर्कासँग पूरै सम्मानका साथ पेश हुन्छन् । उनीहरु एक अर्काको गरिमा कायम राख्छन् । मलाई विश्वास छ यी दुईको बीचमा कुनै मुद्दा आए समाधान निकाल्छन् । यसमा सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि कुनै अर्को क्षेत्रका देशहरुको बीचमा आउनु हुँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.