उडिरहेको जहाज बीचमै रोक्न भन्दै यात्रीको हंगामा, ककपिटमा जबरजस्ती घुस्ने प्रयास

डिसी नेपाल
२३ जेठ २०७८ १७:४०
1.4k
Shares

काठमाडौं। अमेरिकाको डेल्टा एयरलाइन्सको एक जहाजमा एक जना यात्रुले निकै हंगामा गरेका छन् । उनले उडिरहेको जहाज रोक्न भन्दै हंगामा गरेपछि अरु यात्रीहरु त्रसित भएका थिए । सीएनएनका अनुसार अमेरिकाको लस एन्जल्सबाट न्यासभिले जान लागेको विमान उडेको केही समयमै यी यात्रु आफ्नो सिटबाट उठेर ककपिटमा पुगेका थिए । यी यात्रुको हंगामापछि अन्ततः विमानलाई न्यू मेक्सिकोको अल्बुकर्कमा आकस्मिक अवतरण गरिएको छ ।

विमान आकस्मिक अवतरण गरेसँगै ती यात्रुलाई पक्राउ गरिएको छ । एफबीआइले ट्वीटरमार्फत घटनाको पुष्टि गरेको छ । एफबीआइले यस विषयमा प्रतिक्रिया दिँदै जनताको लागि कुनै खतरा नभएको बताएको छ । उडानमै भएका अर्का एक यात्रुका अनुसार ती यात्रु बिना कारण उठेर पाइलटको केबिनतिर गएका थिए त्यसपछि उनले ककपिटको ढोका हान्न थालेका थिए । यी अमेरिकी यात्रुले यस्तो किन गरे भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

यात्री ग्रेस चाल्मर्सका अनुसार ती यात्रुलाई अर्का एक यात्रुले केबिन क्रुको सहयोगमा समातेका थिए । उनलाई लगभग २० मिनेटसम्म जमिनमा लडाएर समातेर राखिएको थियो । पाइलटले विमानलाई अल्बुकर्क विमानस्थलमा अवतरण गराउँदासम्म ती यात्रुलाई नियन्त्रणमा राखिएको थियो । घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा ती व्यक्ति नाङगो खुट्टा र हात बाँधिएको अवस्थामा ‘विमानलाई रोक’ भन्दै चिच्याइरहेका देखिन्छन् ।

ती यात्रुलाई पक्राउ गरेर सोधपुछ भइरहेको छ । उनको पहिचान अहिलेसम्म स्पष्ट हुन सकेको छैन । अवतरणको केही घण्टापछि अन्य यात्रुहरुलाई डेल्टाले न्यासभिले जाने व्यवस्था गरेको थियो । एयरलाइन्सका अधिकारीका अनुसार उक्त विमानमा १६२ यात्रु र ६ चालक दलका सदस्य थिए । अधिकारीहरुले ती व्यक्तिलाई पक्राउ गर्न सहयोग गर्ने यात्रुहरुप्रति आभार व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.