पाकिस्तानमा दुई यात्रुवाहक ट्रेन एक आपसमा ठोक्किए, कम्तीमा ३० को मृत्यु, ५० घाइते
काठमाडौं। पाकिस्तानमा सोमबार बिहान भएको ट्रेन दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । कम्तीमा ५० जना अरु घाइते भएका छन् । माथिल्लो सिन्धको घोत्की जिल्लाको धार्किमा दुई ट्रेन एक आपसमा ठोक्किएका हुन् ।
रेलवे डिपार्टमेन्टका एक प्रवक्तालाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले जनाएअनुसार कराचीबाट सार्गोधातर्फ गइरहेको मिलात एक्सप्रेसले आफ्नो ट्रायाक छोडेर तल्लो ट्रयाकमा गएका कारण रावलपिण्डीबाट आइरहेको सर सैयद एक्सप्रेससँग ठोक्किएको थियो । दुर्घटना राइती रेलवे स्टेशन नजिकै भएको उनले बताए ।
१५ देखि २० जना यात्रुहरु अझै पनि मिलात एक्सप्रेसभित्र फसिरहेको र उनीहरुलाई निकाल्न उद्धारकर्मीहरुले हेभी उपकरण प्रयोग गरेर ट्रेनका भाग काट्ने प्रयास गरिरहेको घोत्कीका एसएसपी उमर तुफैलले बताए । उनका अनुसार फसेका यात्रुहरु सहयोगको लागि रोइकराइ गरिरहेका छन् । घोत्की, धार्की, ओबारो र मिरपुर माथेलोका अस्पतालहरुमा इमरजेन्सी घोषणा गरिएको छ ।
घोत्कीका डेप्युटी कमिश्नर उस्मान अब्दुल्लाहले दुर्घटनामा कम्तीमा ३० जना मारिएको र अन्य ५० जना घाइते भएको बताए । ट्रेनका बोगीहरु पल्टिएकोले उद्धारकर्मीहरुलाई भित्र फसेका यात्रुहरुलाई उद्धार गर्न कठिनाइ भएको छ । अब्दुल्लाहले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताए । अब्दुल्लाहका अनुसार १३ देखि १४ बोगीहरु ट्रयाकबाहिर पुगेका छन् र ६ देखि ८ बोगी पूर्ण रुपमा ध्वस्त भएका छन् ।







डिसी नेपाल








Facebook Comment