युएइमा बच्चालाई कारमा छोड्ने अभिभावकलाई १० वर्ष जेल, ३ करोड रुपैयाँ जरिवाना

डिसी नेपाल
२५ जेठ २०७८ १०:४३
892
Shares

काठमाडौं। युएइमा बालबालिकालाई बन्द कारभित्र छोडेर कुनै काममा अन्यत्र जाने अभिभावकलाई १० वर्ष जेल सजाय र १ मिलियन दिराम (३ करोड १७ लाख रुपैयाँ) जरिवाना हुन सक्नेछ । अबु धाबी पुलिसले अभिभावक सपिङ वा अन्य कामका लागि कतै जाँदा बालबालिकालाई एक्लै कारमा छोडेर जानु कानुनी रुपमा दण्डनीय अपराध हुने चेतावनी दिएको छ ।

‘अभिभावकले बालबालिकालाई कुनै वयस्कको निगरानीबिना गाडीमा छाड्नु निकै खतरनाक हो’ पुलिसले भनेको छ ‘बालबालिकालाई घरमा वा अन्य कुनै ठाउँमा पार्क गरिएको कारभित्र छोड्नु लापरवाही हो जसले निकै गम्भीर अवस्थादेखि मृत्युसम्म पुर्याउन सक्छ ।’ खलीज टाइम्सका अनुसार यो सजाय युएइको बालअधिकार कानुन वा वादिमाको कानुन अन्तर्गत पर्छ जुन कानुन बालबालिकाको मानसिक, शारीरिक र भावनात्मक अधिकारको रक्षाको लागि बनाइएको हो ।

‘बाल अधिकार कानुनको धारा ३३ मा बालबालिकालाई अस्वीकार, बेवास्ता र घरबार विहीनताको अवस्थामा पुर्याउने कार्यहरुबारे उल्लेख छ । यो बालबालिकाको मानसिक, नैतिक र शारीरिक स्वास्थ्य खतरामा पार्नु हो’ डिडब्लुएफ मध्यपूर्वको स्थानीय कानुनी टिमका प्रमुख हायथम एलिहले भने ‘सोही कानुनको धारा ३४ मा बालबालिकालाई एक्लै छाडेर उनीहरुको मनोवैज्ञानिक र शारीरिक अवस्थालाई खतरामा पार्नु दण्डनीय हुने भनेको छ ।’

युएइमा गर्मी अत्याधिक बढेका कारण यस्तो नियम लागू गरिएको हो । युएइमा अहिले अत्याधिक गर्मी छ । आइतबार अल ऐनको स्वीहानमा तापक्रम ५१.८ डिग्री सेल्सियस पुग्यो । यो यस सिजनकै सबैभन्दा गर्मी हो । गएको शुक्रबार पनि यहाँ तापक्रा ५१ डिग्री थियो । राष्ट्रिय मौसम विज्ञान केन्द्रले मे महिनाको तुलनामा जूनमा तापक्रा २ देखि ३ डिग्री बढेको बताएको छ । केन्द्रले यो वर्ष युएइको इतिहासकै सबैभन्दा गर्मी वर्ष होला भन्नु भने हतार हुने बताएको छ । युएइको सबैभन्दा गर्मी वर्ष २००२ मा तापक्रम ५२.१ डिग्री पुगेको थियो ।

गर्मी बढेसँगै पुलिसले गाडीका टायरहरुको जाँच पनि गर्न पनि भनेको छ । पुलिसले चालकहरुलाई आफूहरुले चलाइरहेको गाडीका टायर पुराना र क्षतिग्रस्त छन् कि छैनन् भन्ने सुनिश्चित गर्न भनेको छ ताकि दुर्घटनाबाट बचाउन सकियोस् । विशेषज्ञका अनुसार यो गर्मीमा बालबालिकालाई गाडीमा छोड्नु खतरनाक हुने बताएका छन् । विशेषज्ञले बाहिरको तापक्रम ४० डिग्री भएको अवस्थामै १० मिनेटभित्र गाडीभित्रको तापक्रम ६० डिग्री पुग्ने बताएका छन् । गाडिभित्र हिट स्ट्रोक र सफोकेसनले बालबालिकाको ज्यान जान सक्ने विशेषज्ञले चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.