जेफ बेजोस आफ्ना भाइसँग अन्तरिक्षको यात्रामा जाने
काठमाडौं। अमेजनका संस्थापक अर्बपति जेफ बेजोस अन्तरिक्ष यात्रामा जाने भएका छन् । अन्तरिक्ष यात्रामा उनको साथमा उनका भाइ मार्क बेजोस पनि हुनेछन् । बेजोसको रकेट कम्पनी ब्लु ओरिजिनको मानवसहित पहिलो अन्तरिक्ष उडानमा बेजोस स्वयं जान लागेका हुन् । बेजोसले आफ्नो कम्पनीले अर्को महिना मानव अन्तरिक्ष यान प्रक्षेपण गर्ने घोषणा गरेका छन् । यो अभियानमा बेजोस दाजुभाइ सहभागी हुनेछन् ।
अमेजनको सीइओ पद छोडेको १५ दिनमै बेजोस अन्तरिक्षका लागि प्रस्थान गर्नेछन् । बेजोसले भनेका छन् ‘म पाँच वर्षको उमेरदेखि नै अन्तरिक्षमा यात्रा गर्ने सपना देख्दै आएको छु । २० जुलाइमा आफ्नो जिग्री साथी (भाइ) सँग म एक नयाँ यात्राको लागि निस्किनेछु ।’ बेजोस अन्तरिक्षमा जाने पहिलो अर्बपति हुनेछन् । कम्पनीबाट यात्रा गर्ने ग्राहकहरुले ४ दिनको अन्तरिक्ष यात्राको अनुभव पाउनेछन् । यसअघि ३ दिनको प्रि–फ्लाइट प्रशिक्षण पनि दिइनेछ ।
यात्रुलाई प्रशिक्षण कम्पनीको प्रक्षेपण क्षेत्र टेक्सासको वेन हर्नमा दिइनेछ । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्कले यसअघि कैयौं वर्षदेखि मंगल ग्रह र अन्तरिक्षमा जाने अभियान चलाइरहेका छन् तर उनलाई उछिन्दै जेफ बेजोस अन्तरिक्ष पुग्ने पहिलो अर्बपति बन्ने भएका छन् । ब्लु ओरिजिनले आफ्नो पहिलो उडानको एक सिट लिलामीमार्फत बेच्नेछ । यसबाट आएको पैसा ब्लु ओरिजिन फाउन्डेसनलाई दिइनेछ । यो संस्थाले गणित र विज्ञान शिक्षाको प्रवद्र्धन गर्छ । उडान कूल ११ मिनेटको हुनेछ । यस क्रममा यात्र १०० किलोमिटर उचाइसम्म जानेछ ।







डिसी नेपाल








Facebook Comment