बाइडेन र पुटिन कूटनीतिज्ञ फर्काउन सहमत
जेनेभा (एजेन्सी)। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन फिर्ता बोलाइएका आ आफ्ना कूटनीतिज्ञहरुलाई फेरि काममा फर्काउन सहमत भएका छन्। बुधबार स्वीट्जरल्याण्डको जेनेभमा बाइडेन र पुटिनबीच भेटवार्ता भएको छ। यो वार्तामा त्यस्तो बेला भयो जतिबेला दुई देशबीचको सम्बन्ध इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताइएको छ।
वार्तापछि सबैभन्दा पहिला प्रेस कन्फ्रेन्स गर्दै रुसी राष्ट्रपति पुटिनले वार्तामा कुनै शत्रुता नभएको बताएका छन्। उनले दुबै राष्ट्रपतिबीच रचनात्मक सहयोगको सहमति भएकोसमेत बताएका छन्। उनले यसअघि फिर्ता बोलाइएका एक अर्काका कूटनीतिज्ञहरुलाई फेरि काममा फर्काउने सहमति भएकोसमेत जानकारी दिएको बीबीसीले जनाएको छ।
यो वार्ता हुनुभन्दा केही महिना अगाडि अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनलाई हत्यारा भनेका थिए। त्यसपछि रुसले वाशिङ्टनस्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो भने मस्कोस्थित अमेरिकी राजदूतलाई फिर्ता पठाएको थियो।
बुधबारको वार्तापछि दुबे मुलुक कूटनीतिक रुपमा वार्ता गर्न सहमत भएका हुन्।







डिसी नेपाल








Facebook Comment