अमेरिकाले एउटा देशलाई ८० वटा सिसी मात्रै भ्याक्सिन पठाएपछि अन्तर्राष्ट्रिय बेइज्जती

डिसी नेपाल
३ असार २०७८ १६:३०
7.6k
Shares

काठमाडौं। कूटनीतिमा आफ्नो पकड बलियो बनाउन अमेरिका र चीनबीच प्रतिस्पर्धा चलिरहेको छ । यी दुई देशले विश्वका कैयौं देशहरुलाई भ्याक्सिन उपलब्ध गराएर आफ्नो सम्बन्ध बलियो बनाउने प्रयास गरिरहेका छन् । यही क्रममा अमेरिकाले एउटा देशलाई यति कम भ्याक्सिन उपलब्ध गरायो कि चीनले अमेरिकाको निकै खिल्ली उडाइरहेको छ । खासमा अमेरिकाले एउटा सिंगो देशलाई ८० वटा सिसी मात्रै भ्याक्सिन पठाएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले कुनै पनि देशलाई भ्याक्सिन दिएर प्रभावित पार्ने कोसिस नगर्ने बताएका थिए । तर, लगत्तै अमेरिकाले क्यारेबियन देश ट्रिनिडाड एण्ड टोबागोलाई ८० वटा सिसी मात्रै भ्याक्सिन पठाएपछि चीनको सरकारी मिडिया चाइना डेलीका युरोप ब्युरो प्रमुख चेन वेइहुआले अमेरिकाको खिल्ली उडाउँदै भने ‘यो एउटा नर्सिङ होमलाई दान गरेजति मात्रै हो एउटा सिंगो देशलाई दिएजति होइन ।’ अमेरिकी विदेश मन्त्रालयले ट्रिनिडाड एण्ड टोबागोलाई भ्याक्सिन दिएको ट्वीट गरेर जानकारी गराएपछि सामाजिक संजालमा अमेरिकाको खिल्ली उडाउन थालिएको हो ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले यस विषयमा भनेको छ ‘के यसलाई यस वर्षको सबैभन्दा खराब जनसम्पर्क पुरस्कारको लागि छानिनेछ ?’ आम रुपमा एउटा सिसीमा ५ वा ६ डोज भ्याक्सिन हुन्छ । ट्रिनिडाड एण्ड टोबागोलाई दिइएको ८० सिसीमा ४०० डोजदेखि बढीमा ८४० डोज छ । यो फाइजरको भ्याक्सिन हो त्यसैले एक जनाले २ डोज लगाउनुपर्छ । जसको अर्थ यसले २०० देखि बढीमा २४० जनालाई मात्र पुग्छ । २०१९ कै तथ्यांकमा ट्रिनिडाड एण्ड टोबागोको जनसंख्या १.३९५ मिलियन थियो ।

चीनका मिडिया ग्लोबल टाइम्स, चाइना डेली लगायतले अमेरिकी विदेश मन्त्रालयको ट्वीटमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । सिन्ह्वाले लेखेको छ ‘यसलाई काम कम गर्ने र बढी देखाउने भनिन्छ । चीनले मे महिनामा ट्रिनिडाड एण्ड टोबागोलाई १ लाख डोज सिनोफार्म भ्याक्सिन दिएको थियो । चीनले बाँडेका भ्याक्सिनको आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन तर उपलब्ध तथ्यांकको आधारमा रोयटर्सले अनुमान गरेअनुसार जून महिनाको सुरुवातमा चीनले कम्तीमा १६.८२ मिलियन डोज बाँडेको छ ।

अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार चीनले विश्वका ५० भन्दा धेरै देशलाई आफ्नो भ्याक्सिन दिइसकेको छ । गएको २५ अप्रिलसम्म चीन विश्वको सबेभन्दा ठूलो भ्याक्सिन उत्पादक बनिसकेको छ । त्यतिबेलासम्म चीनले ४१.५ करोड डोज भ्याक्सिन उत्पादन गरिसकेको थियो । दोसे स्थानको अमेरिकाले २७ करोड डोज, तेस्रो युरोपेली संघले २२ करोड डोज र चौथो भारतले १९.६ करोड डोज उत्पादन गरेका छन् ।

चीनको भ्याक्सिन पूर्वी युरोपका ५, एसियाका १०, ल्याटिन अमेरिकाका १०, पश्चिम एसियाका ३ र अफ्रिकाका १२ देशसम्म पुगेको छ । ६९ देशहरुलाई चीनले भ्याक्सिन दान दिएको छ । ६० देशमा चीनको भ्याक्सिनले प्रयोगको लागि स्वीकृति पाएको छ । ४३ देशमा चीनको भ्याक्सिन निर्यात भइरहेको छ । संयुक्त राष्ट्रसंघको शान्ति सेनालाई पनि चीनको भ्याक्सिन दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.