अमेरिकासँग ‘वार्ता र मुठभेड’ दुवैका लागि किम जङ-उनको तयारी
बीबीसी। उत्तर कोरियाका नेता किम जङ-उनले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग “वार्ता र मुठभेड” दुवैका लागि तयारी गर्नुपर्ने टिप्पणी गरेका छन्। उनले विशेषतः आफूहरू “मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने” बताएका छन्।
किम जङ-उनले राष्ट्रपति जो बाइडनको प्रशासनबारे प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो। उत्तर कोरियाले यसअघि नयाँ अमेरिकी सरकारले कूटनीतिक संवाद गर्न खोजेको प्रयासलाई बेवास्ता गरेको थियो।
सर्वोच्च नेता किम जङ-उनले प्योङ्याङमा देशका वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै वार्ता र भिडन्तका कुरा गरेका हुन्। सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानी प्योङ्याङमा यसै हप्ता आरम्भ भएको थियो।
उत्तर कोरियाको सरकारी समाचारसंस्था केसीएनएले जनाएअनुसार किमले “हाम्रो देशको स्वाभिमान र स्वतन्त्र विकासको हितको रक्षा गर्नका निमित्त विशेषगरी मुठभेडको अवस्थाका लागि पूर्ण तयारी हुनुपर्ने आवश्यकता रहेको” बताएका थिए।
किम जङ-अनको त्यस्तो टिप्पणी उनले देशले खाद्य अभावको समस्या बेहोरिरहेको भनेर औपचारिक रूपमा स्वीकार गरेको केही दिनपछि आएको छ।
हाल उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति बाइडनको प्रशासनबीचको सम्बन्ध तनावपूर्ण देखिएको छ। राष्ट्रपतीय निर्वाचनअघि बाइडनले किमलाई “ठग” भनेका थिए।
बाइडनको शपथ ग्रहण समारोहको केही दिनअघि मात्र उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रसहित ठूलो स्तरको सैनिक परेड गरेर शक्ति प्रदर्शन गरेको थियो।







डिसी नेपाल







Facebook Comment