अक्सिजन पर्याप्त छ तर डाक्टर छैनन्, पढ्दै गरेका डाक्टर लैजान मेडिकल कलेज पनि छैनन्

डिसी नेपाल
६ असार २०७८ १४:२५
100
Shares

काठमाडौं। कोरोनाभाइरसको दोस्रो लहर पीक अर्थात उच्चतम विन्दूमा पुगेका बेला नेपालमा अक्सिजनको अत्यन्तै अभाव देखियो । छिमेकी देश भारतमा पनि अक्सिजनको अभावले धेरै बिरामीको ज्यान लिएको खबर आयो । तर, अर्को छिमेकी देश माल्दिभ्समा भने अर्कै समस्या छ ।

यहाँको सबैभन्दा ठूलो कोभिड उपचार केन्द्रमा ३ सय बेड छन् । यहाँ अक्सिजनको कुनै समस्या छैन, निरन्तर आपूर्ति हुन्छ । तर, गत महिना प्रतिव्यक्ति संक्रमण विश्वकै सबैभन्दा बढी भएको यो देशमा कोरोना उपचारको लागि सबैभन्दा ठूलो समस्या स्वास्थ्यकर्मीको छ ।

‘सबैभन्दा खराब अवस्थामा हामीसँग २० जना बिरामीका लागि १ जना मात्र नर्स थिए’ राजधानी मालेको हुल्हुमाले मेडिकल फ्यासिलिटीकी प्रमुख मारिया सइदले न्यूयोर्क टाइम्ससँग भनिन् ‘ओच्छ्यानमा परेका वृद्धहरुको स्याहारको लागि हामीलाई जनशक्तिको अत्यन्तै खाँचो थियो र नर्सहरुले धान्न सक्ने अवस्था थिएन ।’

हुन त जनशक्तिको अभाव विश्वका अधिकांश देशहरुमा देखिएको थियो । गत वर्ष स्पेनले मेडिकल विद्यार्थी र अवकाशप्राप्त डाक्टरहरुलाई पनि कोभिड ड्युटीमा लगाएको थियो । भारतमा पनि गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले मेडिकल पढ्ने अन्तिम वर्षका विद्यार्थीलाई कोभिड ड्युटीमा भर्ना गर्न भनेका थिए ।

हिन्द महासागरमा १२०० टापुहरुको देश माल्दिभ्समा भने आफ्नै किसिमको समस्या छ । उसले सजिलै मेडिकल विद्यार्थीहरुलाई बोलाउन पनि सक्दैन किनकि माल्दिभ्समा मेडिकल कलेज भएको एउटा मात्र विश्वविद्यालय छ । यतिमात्र होइन माल्दिभ्सका धेरै स्वास्थ्यकर्मी उसको देशका नागरिक नै होइनन् । माल्दिभ्सको स्वास्थ्य सेवा विदेशी कामदारमा निर्भर छ । यहाँ धेरैजसो डाक्टर र नर्सहरु भारतबाट आउँछन् र अहिले भारत आफैं महामारीसँग जुधिरहेको छ ।

अहिलेसम्म जसोतसो महामारीसँग जुधिरहेको माल्दिभ्सले अब अर्को संकटको लागि आफ्ना अस्पतालमा कर्मचारी कसरी पूर्ति गर्ने भन्ने कुनै योजना बनाउन सकिरहेको छैन । ‘हामीले बंगलादेश, भारत लगायतका देशहरुसँग त्यहाँका डाक्टर र नर्सहरु ल्याउने विषयमा कुरा गरेका थियौं’ गत महिना पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले भनेका थिए ‘तर उनीहरु आफ्नै संकटका कारण सहयोग दिन असमर्थ भए ।’

पहिलो लहरका बेला माल्दिभ्सले साना देशहरुमा महामारी नियन्त्रणको लागि नमूना नै पेश गरेको थियो । करिब ५ लाख ४० हजार जनसंख्या भएको यो देशले आक्रामक रुपमा कन्ट्याक्ट ट्रेसिङका साथमा टापु भूगोलको समेत लाभ लिएको थियो । उसले आफ्नो देशमा संक्रमण फैलिन रोकेर आफ्ना विलासी रिसोर्टमा विदेशी पर्यटक लोभ्यायो र आफ्नो अर्थतन्त्र चलायमान राख्यो । अप्रिलमा उसले सामान्य रुपमा रमदान मनाउन अनुमति दियो र राष्ट्रिय रुपमा निर्वाचन पनि गर्यो ।

‘भोलि के हुन्छ भन्ने तपाइँलाई कहिल्यै थाहा हुँदेन’ माल्दिभ्सको आधिकारिक जनसम्पर्क एजेन्सीका प्रबन्ध निर्देशक तोयिब मोहम्मदले न्यूयोर्क टाइम्ससँग भने ‘यो अन्य देशहरुको लागि पनि समयमै सचेत हुन उदाहरण बन्न सक्छ ।’ देशका ५९ प्रतिशत जनताले कम्तीमा १ डोज कोभिड भ्याक्सिन लगाइसकेका छन् तर पछिल्लो संक्रमण निकै धेरैमा फैलियो । माल्दिभ्समा कोभिडका कारण भएका कूल मृत्युको आधा मृत्यु मे महिनामा मात्र भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.