एकैपटक १० वटा बच्चा जन्माएको दावी गर्ने महिला गर्भवती समेत थिइनन्
काठमाडौं। एकै पटक १० वटा बच्चा जन्माएको दावी गर्ने महिला गर्भवती समेत नभएको खुलासा भएको छ । दक्षिण अफ्रिकाकी गोसियामी सिटहोल नामकी यी महिलाले गएको जून ७ मा एकैपटक १० वटा बच्चा जन्माएको दावी गरेर विश्वभर तरंग ल्याइदिएकी थिइन् । तर, यो दावीपछि उनका बच्चाहरुको कुनै पनि तस्वीर सार्वजनिक नभएपछि उनको दावीमाथि शंका गर्न थालिएको थियो ।
उनको दावी झुटो भएको खुलासापछि उनलाई पुलिसले पक्राउ गरेको थियो त्यसपछि उनलाई मानसिक अस्पतालमा भर्ना गरिएको थियो । अहिले गाउतेंग प्रदेश सरकारले सिटहोल गर्भवती समेत नभएको बताउँदै एक वक्तव्य जारी गरेको छ । ‘मेडिकल अभ्यासकर्ताहरुबाट यो कुरा स्थापित भइसकेको छ कि सिटहोलले हालै कुनै पनि बच्चालाई जन्म दिएकी थिइनन्’ वक्तव्यमा भनिउको छ ‘यो पनि स्थापित भएको छ कि पछिल्लो समय उनी गर्भवती पनि थिइनन् ।’
दक्षिण अफ्रिकाको राष्ट्रिय स्वास्थ्य विभागले पनि आफ्नै अनुसन्धानबाट यस्ता कुनै बच्चाहरुको अस्तित्व नभएको पाइएको बताएको छ । सबैभन्दा पहिले यो समाचार रिपोर्टिङ गर्ने पत्रकारले माफी मागेका छन् । प्रिटोरिया न्युजका सम्पादक पिएट राम्पेडीले यो समाचारका कारण आफू ‘दुःख र पश्चात्तापमा’ रहेको बताएका छन् । दक्षिण अफ्रिकाको सन्डे टाइम्सका अनुसार राम्पेडीले यो समाचारका लागि सहकर्मीहरुसँग माफी मागेका छन् ।
उनी कसरी गर्भवती भएजस्ती देखिइन् र उनका ब्वाइफ्रेण्ड तेबोहो सोतेत्सीलाई यसबारे जानकारी थियो वा थिएन भन्ने स्पष्ट छैन । यो जोडीका पहिल्यै ६ वर्षका जुम्ल्याहा सन्तान छन् । सिटहोलले १० सन्तान जन्माएको खबर बाहिरिएपछि उनीहरुलाई करिब ५० हजार पाउण्ड (८२ लाख रुपैयाँ) बराबरको सहयोग उठेको थियो ।







डिसी नेपाल








Facebook Comment