विश्व स्नोबोर्ड च्याम्पियन एलेक्सको मृत्युको एक वर्षपछि प्रेमिका उनकै बच्चासहित गर्भवती
काठमाडौं। विश्व स्नोबोर्ड च्याम्पियनसिपको उपाधि २ पटक जितेका विन्टर ओलम्पियन एलेक्स पुलिसकी प्रेमिका एलेक्सकै वीर्यबाट गर्भवती भएकी छिन् । एलेक्सको एक वर्षअगाडि दुर्घटनामा मृत्यु भएको थियो । एलेक्सको मृत्यु भएपछि उनकी प्रेमिकाले २४ घण्टा अगाडि नै उनको शरीरबाट वीर्य निकालेर सुरक्षित राखेकी थिइन् । अहिले उनी त्यही वीर्यको प्रयोग गरेर गर्भवती भएकी हुन् ।
अस्ट्रेलियाका एलेक्सको जुलाइ २०२० मा दुर्घटनामा मृत्यु भएको थियो । त्यतिबेला उनी प्रेमिका एलिडे ब्लुगसँग ८ वर्षदेखि सम्बन्धमा थिए । एलेक्सको मृत्युपछि एलिडेको आग्रहअनुसार डाक्टरले उनको शरीरबाट स्वस्थ वीर्य निकाल्न सफल भएका थिए । एलिडेले इन्स्टाग्राममार्फत अहिले आफू गर्भवती भएको पुष्टि गरेकी छिन् । पोस्टमा एलिडेले आफूहरुको छोरा अक्टोबरमा आउने बताएकी छिन् ।
एलिडेका अनुसार पछिल्लो समय उनी र एलेक्सले बच्चा जन्माउने योजना बनाइरहेका थिए । अचानक एलेक्सको मृत्यु भएपछिको समय आफ्नो लागि निकै चुनौतीपूर्ण रहेको बताउँदै एलिडेले अहिले आफूले केही सहज महसुस गरिरहेको बताइन् । एलिडेले अस्ट्रेलियाको सेभेन न्यूजसँग कुरा गर्दै भनिन् ‘एलेक्सको मृत्युको केही हप्तापछि मैले आशा गरिरहेकी थिएँ कि म गर्भवती हुन सकुँ । हामी धेरै समयदेखि बच्चाको योजना बनाइरहेका थियौं । यही विषयमा हामीले आइभीएफ प्रविधिको बारेमा पनि सोचिरहेका थियौं ।’
एलिडेका अनुसार अहिले उनी निकै मिश्रित भावनाबाट गुज्रिरहेकी छिन् । उनले भनिन् ‘म एलेक्सलाई धेरै मिस गर्छु । कमसेकम मसँग उनको बच्चा छ र यो मेरो लागि सबैभन्दा ठूलो उपहार हो । हामीले यस्तो होला भन्ने कहिल्यै सोचेका थिएनौं । पछिल्लो एक वर्षमा मसँग जे पनि भयो त्यसमा मलाई अझै विश्वास हुन सकिरहेको छैन ।’ क्विन्सल्याण्डको कानुनअनुसार कसैको मृत्यु भएको ३६ घण्टासम्म वीर्य संकलन गर्न पाइन्छ । यस क्रममा एलेक्सका परिवार पनि अस्ट्रेलियामै थिए ।
अस्ट्रेलयन स्नोबोर्डर एलेक्सले २०१०, २०१४ र २०१८ मा विन्टर ओलम्पिकमा भाग लिएका थिए । उनले २ पटक स्नोबोर्ड क्रस वर्ल्ड च्याम्पियन भएका थिए । ओलम्पिकका साथै एलेक्सले २००८ मा विन्टर एक्स गेम्समा पनि भाग लिएका थिए । उनले २०१६ मा अमेरिकाको कोलोराडोमा भएको प्रतियोगितामा रजत पदक जितेका थिए । उनी आफ्नो स्नोबोर्ड च्याम्पियनको उपाधि रक्षा गर्ने पहिलो अस्ट्रेलियाली पनि हुन् ।







डिसी नेपाल







Facebook Comment