आउँदो अगष्टमा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बन्ने चर्चाले बाइडेन सरकार चिन्तित
काठमाडौं। अमेरिकामा गएको नोभेम्बरमा भएको निर्वाचनमा जित हात बार्दै जो बाइडेन राष्ट्रपति भएका छन् । बाइडेनले जनवरीदेखि राष्ट्रपतिको रुपमा कामकाज गर्दै आएका छन् । तर, अहिले अचानक आउँदो अगष्टमा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बन्ने चर्चा चुलिएको छ । र, यो चर्चाले बाइडेन सरकारका अधिकारीहरुको चिन्ता बढाएको अन्तर्राष्ट्रिय मिडियाले दावी गरेका छन् । यो चर्चाले होमल्याण्ड सेक्युरिटी विभागको चिन्ता बढाएको द इन्डिपेन्डेन्टले जनाएको छ ।
रिपोर्टका अनुसार अगष्टमा राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पलाई पुनः बहाल गर्ने सुझावपछि यो कथित षड्यन्त्रले त्यहाँ हलचल उत्पन्न गराएको छ । यो विचार सिड्नी पावेलसहित पूर्वराष्ट्रपति ट्रम्पका निकट सहयोगीहरुले ल्याएका हुन् । चुनाबमा ट्रम्पले हारेपछि एक वकिलविरुद्ध मुद्दा चलाइएको छ । यी वकिलमाथि निर्वाचनका क्रममा मेसिन अपरेटरहरु र भेनेजुएलाका कम्युनिस्ट नेताहरुसँग मिलेर षड्यन्त्रपूर्व ट्रम्पलाई हराएको आरोप छ ।
न्यूयोर्क टाइम्सका रिपोर्टर म्यागी हेबरम्यानका अनुसार ट्रम्प स्वयं स्पष्ट रुपमा आफू अगष्टमा फेरि अमेरिकाको राष्ट्रपति बन्न सक्छु भन्ने विश्वास गर्छन् । यद्यपि यसको पछाडिको कारण र के आधारमा ट्रम्प फेरि राष्ट्रपति बन्छन् भन्ने स्पष्ट छैन । एक अमेरिकी समाचार आउटलेटका अनुसार यो हल्लालाई लिएर एक शीर्ष काउन्टर इन्टेलिजेन्स अधिकारी जोन कोहेनसँग कांग्रेसका सदस्यले एक निजी कुराकानीका क्रममा यो दावीबारे सोधेका थिए ।
कांग्रेस सदस्यहरुले स्पष्ट रुपमा यो भविष्यवाणीप्रति चिन्ता व्यक्त गरेका थिए किनकि चुनाबमा गडबडी गरेर ट्रम्पलाई हराइएको झुटो हल्ला फैलाइँदा यसअघि ट्रम्पका समर्थकले ठूलो हिंसा गरेका थिए र अब पनि यसका कारण उनका समर्थकको हिंस्रक प्रतिक्रिया हुन सक्ने आशंका बढेको छ । द इन्डिपेन्डेन्टसँग कुरा गर्दै होमल्याण्ड सेक्युरिटी विभागका प्रवक्ताले भने ‘विभाग हिंसा र चरमपन्थी विचारधारा तथा घृणित र झुटा तथ्यको साँठगाँठको जाँचमा केन्द्रित छ । डिएचएस सामाजिक संजाल र अन्य अनलाइन प्लेटफर्मबाट फैलाइएका दुष्प्रचार, षड्यन्त्रका सिद्धान्त र चरमपन्थी आख्यानबाट प्रेरित हिंसा रोक्न आफ्नो क्षमता बढाइरहेको छ ।’







डिसी नेपाल







Facebook Comment