मिठाइ सम्झेर रिमोटको ब्याट्री खाँदा बालिकाको मृत्यु, अन्न नलीमा जलेर प्वाल परेको थियो
काठमाडौं। रिमोट कन्ट्रोलमा भएको ब्याट्री निलेकी एक बालिकाको अस्पतालमा मृत्यु भएको छ । ब्याट्रीले उनको शरीरभित्र अन्न नलीमा जलाएर प्वाल नै पारेको पाइएको छ । हार्पर ली फ्यान्थोर्प नामकी ती बालिकाले ब्याट्री निलेपछि ब्याट्रीभित्र भएको एसिड रसाएर उनको एक प्रमुख धमनीसम्म पुगेको थियो जसका कारण उनको मृत्यु भयो । डेली मिररका अनुसार बेलायतमा भएको यो घटनाले बालबालिकाको सुरक्षाको विषयमा ठूलो बहस सृजना गरेको छ ।
ती बालिकाकी शोकाकुल आमा स्टासी निक्लिनले आफूले आफ्ना वरिपरि भएका सामान्य मानिने वस्तुहरु यति धेरै खतरनाक हुन सक्छन् भन्ने पहिले महसुस नगरेको बताउँदै अन्य अभिभावकहरुलाई बालबालिकालाई यस्ता वस्तुहरुबाट सुरक्षित राख्नको लागि सतर्क रहन आग्रह गरेकी छिन् । उनका अनुसार छोरीलाई के भयो भन्ने कुरा उनले पछि मात्र थाहा पाएकी थिइन् । बीबीसीका अनुसार पछि घरमा भएको एउटा रिमोटको ब्याट्री हराइरहेको पाएपछि मात्रै उनले छोरीले ब्याट्री निलेको थाहा पाएकी थिइन् ।
हार्परको मृत्युपछि डाक्टरहरुले यी ब्याट्रीमा हुने एसिडले केही घण्टामै हाम्रो शरीरका प्रमुख अंगको वारपार प्वाल पार्न सक्ने बताउँदै यी वस्तु बालबालिकाको लागि निकै खतरनाक हुने चेतावनी जारी गरेका छन् । स्टोक अन ट्रेन्टकी हार्परले घरमा रगत बान्ता गर्न थालेपछि उनलाई २३ मेमा रोयल स्टोक युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको थियो । १४ जुनमा उनको मृत्युबारे भएको कानुनी सुनुवाइमा डाक्टरहरुले कसरी उनको घाँटीको नलीमा प्वाल फेला पारे भन्ने बताइएको थियो ।
डाक्टरहरुले यी बालिकालाई बचाउन सक्दो प्रयास गरे पनि सर्जरीको क्रममा बालिकालाई अचानक मुटुको धड्कन अनियमित हुने गम्भीर समस्या ‘कार्डियाक एरिथ्मिया’ भएको र उनको मृत्यु भएको थियो । कन्सल्टेन्ट पेडियाट्रिसियन एन्ना पिगोटका अनुसार स्वास्थ्यकर्मीले हार्परलाई बचाउन निकै प्रयास गरेका थिए तर उनको रक्तस्राव अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगिसकेको थियो । नर्थ स्टाफोर्डशायरका कोरोनर एन्ड्रयु बार्कलीले उनको मृत्युलाई दुर्घटनाको रुपमा सरकारी रेकर्डमा उल्लेख गरेका छन् ।
डा. पिगोटका अनुसार हार्पर बेलायतमा ब्याट्री निलेर गम्भीर बिरामी पर्ने पहिलो बच्चा होइनन् । उनले अभिभावकहरुलाई बालबालिकामा मुखबाट र्याल बग्ने तथा बालबालिकाले आफ्नो घाँटी वा पेटतर्फ देखाउँदै इशारा गर्ने लक्षण देखिएका सतर्क रहन सुझाव दिएकी छिन् । ‘रोयल सोसाइटी फर द प्रिभेन्सन अफ एक्सिटेन्टलाई बालबालिकाले बटन ब्याट्री निलेर मृत्यु भएको वा गम्भीर घाइते भएका घटनाहरुबारे जानकारी छ र यो स्पष्ट रुपमा छुट्टै घटना होइन’ डा. पिगोटले भनिन् ।







डिसी नेपाल







Facebook Comment