राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

डिसी नेपाल
२० असार २०७८ १६:३०
32
Shares

भियना । राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्ने भएका छन् ।

आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रसंघको भियना कार्यालयका लागि इरानका राजदूत काजिम घारीबाबाडीले ट्वीटर मार्फत यस्तो घोषणा गरेका हुन् । उनले आणविक एजेन्सीसँग भएको सम्झौता बमोजिम एजेन्सीले अनुगमन गर्ने र निरन्तर एजेन्सीको सम्पर्कमा इरान रहेको पनि बताए ।

युरोपको एक कुटनीतिक स्रोतले पनि आइएईएका उपमहानिर्देशक अपारोले इरान भ्रमण गर्न लागेको पुष्टि गरेको छ । इरानको नटान्ज आणविक प्रशोधन केन्द्रमा प्रयोग गरिएका सेन्ट्रीफ्युजको अवस्थाका बारेमा अनुगमनकर्तालाई पूर्ण पहुँच दिएको छ छैन भन्ने बारेमा उपमहानिर्देशकले जानकारी लिनेछन् ।

गत अप्रिल ११ मा नटान्ज आणविक केन्द्रमा विस्फोट भएसँगै इरानले आइएईएको पहुँचलाई सीमित गरेको छ । तर आगामी केही दिनभित्रै राष्ट्रसंघीय अनुगमनकर्ताहरुलाई पूर्ण पहुँच दिइने स्रोतको भनाई छ । इरानले बिस्फोटका लागि इजरायलमाथि दोषारोपण गरिरहेको छ ।

आइएईएका प्रवक्ताले इरानी आणविक कार्यक्रमको अनुगमनको सिलसिलामा उपमहानिर्देशक अपारोले नियमित अन्तरालमा इरानको भ्रमण गरिरहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *