अमेरिकी राष्ट्रपतिको मूल्यांकनमा ट्रम्प सबैभन्दा खत्तम राष्ट्रपति ठहरिए, यस्तो छ पूरा सूची
काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालमा निर्णय र बयानका कारण निकै विवादमा रहे । आप्रवासी तथा शरणार्थीहरुको विषय, इरानसँगको परमाणु सम्झौता रद्द गर्ने विषय, कोरोना महामारीसँग जुध्ने रणनीतिजस्ता धेरै विषयमा ट्रम्पले धेरै आलोचना सहे । राष्ट्रपतिको निर्वाचनमा हारेपछि पनि हार स्वीकार नगरेर विवादित बयान दिइरहेका उनका समर्थकले संसद भवनमै आक्रमण गरे । यसलाई लोकतन्त्रमाथिको आक्रमण मानिएको छ ।
पदबाट बाहिरिएपछि अमेरिकाका राष्ट्रपतिहरुको मूल्यांकनमा समेटिएका ट्रम्प पछिल्लो १ सय ५० वर्षमा अमेरिकामा बनेका राष्ट्रपतिहरुमध्ये सबैभन्दा खत्तम ठहरिएका छन् । १ सयभन्दा धेरै इतिहासकारहरुले मिलेर गरेको यो मूल्यांकनमा ट्रम्प ४१ औं स्थानमा छन् । उनीभन्दा पछाडि ३ जना मात्र छन् । ४२ औं स्थानमा फ्रेंकलिन पियर्स, ४३ औं स्थानमा एन्ड्रयु जोन्सन र ४४ औं स्थानमा जेम्स बुचानन छन् । यी तीनै जना यो मूल्यांकन सुरु हुँदा पनि अन्तिममै थिए र अहिले पनि अन्तिममै छन् ।
रोचक त के भने यी ३ राष्ट्रपतिलाई अमेरिकाको इतिहासकै खत्तम राष्ट्रपति मानिन्छ । उनीहरु कम्तीमा १५० वर्ष पहिले राष्ट्रपति भएका थिए । फ्रेंकलिन पियर्स १८५३ देखि १८५७ सम्म राष्ट्रपति थिए । एन्ड्रयु जोनसन १८६५ देखि १८६९ सम्म र जेम्स बुचानन १८५७ देखि १८६१ सम्म राष्ट्रपति थिए । तर, बुचानन र जोनसनको बीचमा ४ वर्षका लागि १८६१ देखि १८६५ सम्म राष्ट्रपति रहेका अब्राहम लिंकन भने सर्वोत्कृष्ट राष्ट्रपति ठहरिएका छन् ।
१४२ इतिहासकार र व्यवसायिक पर्यवेक्षकहरुले तयार गरेको सी-स्पानको यो सूचीमा डोनाल्ड ट्रम्प पहिलो पटक समेटिएका हुन् तर डेब्यूमै उनी पुछारमा परेका छन् । यो मूल्यांकनमा १० विन्दूमा राष्ट्रपतिहरुको परीक्षण गरिएको थियो । जनतालाई विश्वासमा लिने, संकटको स्थिति सम्हाल्ने, आर्थिक व्यवस्थापन, नैतिक अधिकार, प्रशासनिक कौशल, सांसदहरुसँग सम्बन्ध, एजेण्डा, न्याय, प्रदर्शन लगायतका आधारमा मूल्यांकन गरियो । जनतालाई आफ्नो विचारमा सहमत गराउने मामिलामा ३२ औं र आर्थिक मोर्चामा ३४ औं स्थानमा रहेका ट्रम्प नैतिकता र प्रशासनिक कुशलतामा अन्तिममा परे ।
सूचीमा पूर्व राष्ट्रपति बाराक ओबामा १० औं स्थानमा रहे । गृहयुद्ध जितेका र दास प्रथाको उन्मुलन गरेका राष्ट्रपति अब्राहम लिंकन सूचीमा शीर्ष स्थानमा रहे । पहिलो राष्ट्रपति तथा अमेरिकालाई बेलायतबाट स्वतन्त्र बनाउने जर्ज वाशिङटन दोस्रो स्थानमा रहे । १९३० को आर्थिक मन्दीका बेला ‘न्यू डील’मार्फत अमेरिकाको डुबेको अर्थतन्त्र उठाउने फ्रेंकलिन डी रुजवेल्ट तेस्रो स्थानमा रहे । अमेरिकी राष्ट्रपतिको शक्ति विस्तार गर्ने थियोडोर रुजवेल्ट चौथो र दोस्रो विश्वयुद्धमा पश्चिमी युरोपमा मित्र देशको सेनाको सर्वोच्च कमाण्डर रहेका ड्वाइट आइजनहावर पाँचौं स्थानमा रहे ।







डिसी नेपाल







Facebook Comment