देवयानी राणा कोकाकोलाको भारत र दक्षिण पश्चिम एसिया हेर्ने उपाध्यक्ष नियुक्त
काठमाडौं। कोकाकोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत र दक्षिण पश्चिम एसिया हेर्ने गरी आफ्नो जनसम्पर्क, सञ्चार र दिगो विकासका लागि उपाध्यक्ष नियुक्त गरेको छ । बिहीबार कम्पनीले राणाको नियुक्तिको घोषणा गरेको हो । देवयानी राणा नेपाली हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाकी छोरी हुन् ।
देवयानीसँग सरकारी र कर्पोरेट क्षेत्रमा २५ वर्षभन्दा धेरै समय काम गरेको अनुभव छ । रणनैतिक व्यवसायिक वकालत, जोखिम व्यवस्थापन, संचार र दीगो विकासका क्षेत्रमा उनले काम गरेकी छिन् । नियुक्तिबारे कुरा गर्दै कोकाकोलाका भारत तथा दक्षिण पश्चिम एसियाका अध्यक्ष संकेत रेले देवयानीलाई आफ्नो टिममा स्वागत गर्न पाउँदा आफू उत्साहित भएको बताए ।
यसअघि राणा क्याटरपिलर इण्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशक थिइन् । क्याटरपिलरमा काम गर्नुअघि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र संयुक्त राष्ट्रसंघको भारत कार्यालयसहित स्वाब फाउन्डेसनमा पनि काम गरेकी थिइन् ।
लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा अध्ययन गरेकी राणाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शासत्रमा स्नातकोत्तर गरेकी छिन् । साथमा उनले राजनीति शास्त्रमा युनिभर्सिटी अफ दिल्लीको लेडी श्री राम कलेजबाट स्नातक गरेकी छिन् ।







डिसी नेपाल








Facebook Comment