हराएको रुसी विमान समुद्रमा दुर्घटनाग्रस्त
काठमाडौं। यात्रु र चालकदलका सदस्य गरी २८ जना लिएर उडेको रुसी यात्रुवाहक विमान समुद्रमा दुर्घटना भएको छ । मंगलबार रुसको कामाचात्का प्रायद्विपमा विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको रुसको आरआइए समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । अवतरण गर्नुभन्दा ठिक अगाडि एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएपछि यो विमान हराइरहेको थियो ।
आन्तोनोभ एएन–२६ मोडलको यो विमान दुई इन्जिनसहितको टर्बोप्रोप थियो । विमान क्षेत्रीय राजधानी पेत्रोपाभ्लोभ्स्क–कामाचात्स्कीबाट उत्तरी कामाचात्काको पालानाका लागि उडेको थियो । विमानको अचानक एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको रुसको आकस्मिक मन्त्रालयले जनाएको छ । दुर्घटना भएको क्षेत्रमा केही जहाजहरु पठाइएको आरआइएले आकस्मिक मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ ।
विमानमा २२ जना यात्रु र ६ जना चालकदलका सदस्य थिए । पालानाका मेयर ओल्गा मोखिरेभा पनि विमानमा भएका यात्रुहरुमध्ये एक भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ । इन्टरफ्याक्स समाचार एजेन्सीले मेटेलोजी सेन्टरलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनाको बेला त्यस क्षेत्रमा बादल लागेको थियो । तास समाचार एजेन्सीका अनुसार विमान १९८२ मा बनेको थियो ।







डिसी नेपाल







Facebook Comment