नेपालका सबैजसो छिमेकी देशका शासकहरु प्रेस स्वतन्त्रताका आक्रमणकारी, नेपाल भने परेन

डिसी नेपाल
२२ असार २०७८ १८:०७
2.8k
Shares

काठमाडौं। नेपालका छिमेकी देशका शासकहरु प्रेस स्वतन्त्रताको उल्लंघनकर्ताहरुको सूचीमा परेका छन् । यसमा सबैभन्दा महत्वपूर्ण अनुहार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । आफ्नो देशलाई विश्वकै ठूलो लोकतन्त्र भन्ने मोदी यो सूचीमा पर्दा नेपालका शासक भने परेनन् । तर, नेपालका अधिकांश छिमेकी देशका शासकहरु यो सूचीमा छन् ।

रिपोर्टर्स विदाउट बोर्डर्सले ५ वर्षपछि जारी गरेको यो सूचीमा प्रेस स्वतन्त्रतालाई दबाउने ३७ जना खलपात्रको सूचीमा नेपालका छिमेकी शासकहरु परेका हुन् । यी शासकहरुले लगातार प्रेस स्वतन्त्रतामाथि आक्रमण गरिरहेका छन् । यी शासकहरुको सूचीलाई संस्थाले ग्यालरी अफ ग्रिम पोट्रेट भनेको छ । यो सूचीमा भएका केही अनुहारहरु दशकौंदेखि यो सूचीमा छन् । केही अनुहार भने नयाँ थपिएका छन् । यसमा १७ जना नयाँ थपिएका छन् ।

संस्थाका अनुसार यी ती अनुहारहरु हुन् जो सेन्सरसिपका तरिका अपनाउँछन् । उनीहरु मनोमानी तरिकाले पत्रकारलाई जेलमा हाल्छन् र उनीहरुविरुद्ध आक्रमणलाई बढावा दिन्छन् । यस्ता काम परोक्ष तरिकाले हुने तर उद्देश्य प्रेस स्वतन्त्रतालाई कुल्चिने भएको रिपोर्टमा जनाइएको छ । यो सूचीमा १३ नेता एसिया प्रशान्त क्षेत्रका छन् र उनीहरुको औसत उमेर ६५–६६ वर्ष छ ।

सूचीमा नेपालका छिमेकीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, चिनियाँ राष्ट्रपति शी जिनपिङ, श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे, हङकङकी शासक क्यारी लाम लगायत छन् । यीबाहेक अन्य महत्वपूर्ण नामहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली शासक किम जोंग उन, म्यानमारका सैनिक शासक मिन उङ लाइङ, इरानी सर्वोच्च नेता अली खमेनइ, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान लगायत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *