‘… त्यसपछि थाहा पाएँ, मेरो नाम दिलिप कुमार राखिएछ’

डिसी नेपाल
२३ असार २०७८ १३:१४
156
Shares

काठमाडौं। दिग्गज बलिउड अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधबार निधन भएको छ । ट्रेजडी किंगको नामले चर्चित दिलिप कुमारको वास्तविक नाम भने मोहम्मद युसुफ खान हो । मोहम्मद युसुफ खानबाट दिलिप कुमार बन्दाको घटना निकै रोचक छ ।

दिलिप कुमारको जन्म ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिस इण्डियाको पेशावरमा भएको थियो । पेशावर अहिले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको राजधानी हो । दिलिप कुमारका पिता लाला गुलाम सरवर खान र आमा आयशा बेगमले आफ्ना छोराको नाम युसुफ खान राखेका थिए । यस्तोमा धेरैलाई लाग्ने सामान्य कुरा हो कि युसुफ खान दिलिप कुमार कसरी बने ?

दिलिप कुमार बन्नुको पछाडिको घटना उनको फिल्मी करिअरको सुरुवातमा भएको थियो । १९४४ मा फिल्म ज्वारभाटा रिलिज भएको थियो । यो फिल्ममार्फत भारतीय सिनेमाकी प्रथम स्टार अभिनेत्री देविका रानीले युसुफ खानलाई फिल्ममा दिलिप कुमारको नामबाट पेश गरिन् ।

दिलिप कुमारले आफ्नो नाम परिवर्तनको घटना आफ्नो अटोबायोग्राफी ‘दिलिप कुमारः द सब्स्टान्स एण्ड द स्याडो’मा लेखेका छन् । दिलिप कुमारले किताबमा लेखेका छन् ‘देविकाले मसँग भनिन् – युसुफ म तिमीलाई एक अभिनेताको रुपमा लञ्च गर्नेबारे सोचिरहेकी छु । र, मलाई लाग्छ कि तिमीले आफ्नो स्क्रिन नाम बदल्यौ भने यो कुनै बेकार आइडिया होइन । एक यस्तो नाम जसबाट तिमी चिनिनेछौ । एक यस्तो नाम जो स्क्रिनमा देखिने तिम्रो रोमान्टिक छविको हिसाबले हुनेछ । मलाई लाग्छ दिलिप कुमार राम्रो नाम हो । यो मेरो दिमागमा त्यतिबेला आयो जब म तिम्रो लागि नामबारे सोचिरहेकी थिएँ ।’

दिलिप कुमारलाई यो नाम मन पर्यो । उनले यही नामबाट फिल्मी करिअर सुरु गर्ने निर्णय गरे र आज यो नाम स्थापित भइसकेको छ । यसबाहेक युसुफ खान दिलिप कुमार बन्नुको पछाडि अर्को पनि रोचक घटना छ । भनिन्छ युसुफ खानले पिताको कुटाइ खाने डरले नाम परिवर्तन गरेका थिए । एक अन्तरवार्तामा दिलिप कुमारले स्वयं यसबारे बताएका थिए ।

उनले भनेका थिए ‘मेरा पिता फिल्मको कट्टर विरुद्ध हुनुहुन्थ्यो । उहाँका एक मित्र थिए जसको नाम लाला बंशी नाथ थियो । उनका छोरा फिल्ममा अभिनय गर्थे । मेरा पिता उनीसँग यो के गरिरहेको भनेर पटक पटक गुनासो गर्नुहुन्थ्यो । जब म फिल्ममा आएँ त्यसपछि मलाई उहाँ रिसाउनुहुन्छ भन्ने डर भयो । मलाई कुट्न पनि सक्नुहुन्थ्यो । त्यतिबेला मेरो अगाडि तीन नाम राखिए – युसुफ खान, दिलिप कुमार र वासुदेव । मैले युसुफ खान नराख्न र अर्को जुन मन लाग्छ राख्न भनें । त्यसको २–३ महिनापछि जब मैले अखबारमा एक सूचना पढें त्यसपछि थाहा पाएँ कि मेरो नाम दिलिप कुमार राखिएछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.