रातारात गुपचुप तरिकाले सेनाले अफगानिस्तानको एयरबेस छोडेकोबारे अमेरिकाले जवाफ दियो
काठमाडौं। अफगानिस्तानको चर्चित र महत्वपूर्ण बगराम एयरबेसबाट रातारात कसैलाई नबताइ आफ्ना सैनिक बाहिरिएको रिपोर्टबारे अमेरिकाको रक्षा मन्त्रालयले प्रतिक्रिया दिएको छ । यो आरोप बगराम एयरबेसका नयाँ कमाण्डर जनरल असदुल्लाह कोहिस्तानीले लगाएका थिए ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन एफ किर्बीले पत्रकार सम्मेलनमा यी आरोप अस्वीकार गर्दै अमेरिकाले सबै कुरा त्यहाँका नेताहरु र अधिकारीहरुलाई विश्वासमा लिएर गरेको दावी गरे । उनले अमेरिकाको यो कदमबारे सम्बन्धित अधिकारीलाई जानकारी भएको दावी गरे ।
किर्बीले भने ‘म तपाइँलाई भन्न सक्छु कि बगराम एयरबेस सुम्पिने बारेमा अफगानिस्तानको सरकार र अफगान सुरक्षा बलसँग हाम्रो समन्वय थियो । यो अफगानिस्तानमा हाम्रो सातौं र अन्तिम बेस थियो जसलाई हामीले अफगान सुरक्षा बललाई सुम्पियौं । तपाइँ यस्ता काम कुनै खालीपनमा गर्नुहुन्न र यो पनि त्यसरी गरिएको होइन ।’
उनले अगाडि भने ‘म तपाइँलाई त्यो स्तरको जानकारी दिन सक्दिन जुन जानकारी अफगानिस्तानमा नेताहरु र अधिकारीहरुलाई दिइएको थियो । तर म यति जरुर भन्न सक्छु कि अफगानिस्तानको सरकार, नागरिक र सेनासँग हाम्रो पर्याप्त समन्वय थियो । र, उनीहरुलाई बगराम एयरबेस सुम्पिनेबारे जानकारी दिइएको थियो । खासमा त्यो ब्रिफिङमा बरिष्ट अफगान अधिकारीहरुलाई एयरबेसको अवलोकन पनि गराइएको थियो ।’
यसअघि बगराम एयरबेसका नयाँ कमाण्डर जनरल असदुल्लाह कोहिस्तानीले अमेरिकी सेनाले बगराम एयरबेस रातको अँध्यारोमा अफगानिस्तानलाई नबताइ छोडेको बताएका थिए । उनले बीबीसीसँग कुरा गर्दै अमेरिकी सैनिकले शुक्रबार बिहान ३ बजे बगराम एयरबेस छोडेको तर अफगान सुरक्षा बलले यसको जानकारी केही घण्टापछि मात्रै पाएको बताएका थिए । बगराममा एक जेल पनि छ जहाँ ५ हजार तालिबानीलाई कैद गरिएको बताइन्छ ।







डिसी नेपाल







Facebook Comment