जसपा विवादमाथि सुनुवाई गर्न निर्वाचन आयोगमा इजलास गठन

डिसी नेपाल
२३ असार २०७८ १६:४९
100
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादमाथि सुनुवाई गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ। बुधबार आयोगको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

सो विवादमाथिको पहिलो सुनुवाई साउन ३ गते हुने भएको छ। सुनुवाइका लागि दुबै पक्षलाई साउन ३ गते आयोगमा बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। सो दिन कानुन व्यवसायी राख्ने भए कानुन व्यवसायीसहित उपस्थित हुन दुबै पक्षलाई पत्राचार गरिएको छ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो। यादव समूहले निवेदन दिएपछि आयोगले महन्थ ठाकुर समूहसँग लिखित जवाफ मागेको थियो। ठाकुर समूहले लिखित जवाफ दिएपछि मंगलबार दुबै पक्षसँग सहमतिका लागि छलफल गरिएको थियो।

आयोगमा मंगलबार भएको छलफलमा सहमति नजुटेपछि आयोगले कानुनी व्यवस्था अनुसार विवाद निरुपणका लागि बुधबार इजलास गठन गरेको हो। राजनीतिक दल सम्बन्धी ऐन अनुसार आयोगमा निवेदन परेको ४५ दिन भित्र विवाद निरुपण गर्नुपर्ने व्यवस्था भएकाले सोही समय भित्र विवाद निरुपण गरिनेसमेत प्रवक्ता श्रेष्ठले जानकारी दिए।

ओली सरकारमा महन्थ ठाकुर समूह सहभागी भएपछि जसपाको विवादले उग्र रुप लिएको थियो। महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि उपेन्द्र समूहले ठाकुरलगायतका नेताहरुलाई पार्टीबाट निष्कासन गरी अखिलेखका लागि आयोगलाई निवेदन दिएको थियो। तर, आयोगले सो अभिलेख अध्यावधिक गर्न नमानेपछि उपेन्द्र समूहले आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.