ट्रम्पले हाले ट्विटर, गुगल र फेसबुकविरुद्ध मुद्दा

डिसी नेपाल
२४ असार २०७८ १७:५०
44
Shares

बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सेन्सरशीपबाट पीडित भएको दाबी गर्दै प्रविधिसम्बन्धी कम्पनीहरू गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्।

मुद्दामा ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि विपक्षी बनाइएको छ। उनका समर्थकहरूको नेतृत्वमा अमेरिकी संसद्‌ द क्यापिटलमा दङ्गा भएपछि सुरक्षा चासोलाई ध्यानमा राख्दै उनका सामाजिक सञ्जाल खाताहरू निलम्बित गरिएको थियो।

बुधवार ट्रम्पले मुद्दा हाल्नु आफ्नो कदमलाई ‘अभिव्यक्ति स्वतन्त्रताका लागि असाध्यै राम्रो कदम’ भनेका छन्। बेडमिन्स्टरस्थित गल्फ रिसोर्टबाट प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र डेमोक्र्याटहरूको आलोचना गरे।

उनले भने, ‘हामीहरू नक्कली प्रतिबन्ध, चुप लगाउनेहरूलाई रोक्ने र कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ, तपाईँहरूलाई त्यो सबै राम्ररी थाहा छ।’

मुद्दामा आरोपित सेन्सरशीप रोक्न अदालतको आदेश माग गरिएको छ। ट्रम्पले ‘यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन्’ भनेका छन्।

फ्लोरिडास्थित सङ्घीय अदालतमा दायर गरिएको मुद्दाप्रति लक्षित कुनै पनि प्रविधि कम्पनीहरूले प्रतिक्रिया दिएका छैनन्। प्रेस सम्मेलनमा ट्रम्पसँग उनका पूर्वअधिकारीहरू थिए जसले गैरनाफामूलक अमेरिका फर्स्ट पलिसी इन्स्टिच्यूट खोलेका छन्। बुधवार नै ट्रम्पका रिपब्लिकन सहयोगीहरूले कङ्ग्रेसमा ठूला कम्पनीमाथि कारबाही गर्ने भन्ने नोट सार्वजनिक गरेका छन्। ट्रम्पले हालेको मुद्दाको कानुनी विज्ञहरूले आलोचना गरेका छन्।

उत्तर अमेरिका प्रविधि सम्वाददाता जेम्स क्लेटनको विश्लेषणः

ट्रम्पले सामाजिक सञ्जालको प्रयोग प्रभावकारी रूपमा गरेका थिए। तर उनलाई सामाजिक सञ्जालबाट निलम्बन गरिएपछि आफ्ना कुरा अरूकहाँ पुर्‍याउन कठिन भइरहेको छ।

आफ्नै सामाजिक सञ्जाल बनाउने उनको योजना अहिलेसम्म कार्यान्वयनमा आएको छैन। उनको मुद्दाले ठूला सामाजिक सञ्जालहरू उनका लागि कति महत्त्वपूर्ण छन् भन्ने देखाएको छ।

ट्रम्पवादको एउटा मुख्य रणनीति परम्परागत मिडियालाई छोडेर सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष मतदातासँग सञ्चार सम्पर्का कायम गर्नु हो। फेसबुक ट्रम्पका लागि विशेष महत्त्वपूर्ण रहेको थियो। विज्ञहरू उनको मुद्दा अघि नबढ्ने विश्वास गर्छन्।

ट्रम्पले उनको अधिकार खोसिएको तर्क गर्नेछन्। तर प्रविधि कम्पनीहरूले आफूहरू निजी कम्पनी भएकाले कसले उनीहरूको माध्यम प्रयोग गर्न पाउँछन् भन्ने अधिकार आफूसँग रहेको तर्क गर्नेछन् जुन सफल हुने सम्भावना बढी छ।

संसद्‌मा रहेका रिपब्लिकनहरूले पनि ठूला कम्पनी टुक्र्याउने विधेयक ल्याउन चाहन्छन् तर दुवै संसद्‌मा उनीहरूको बहुमत नरहेकाले त्यो कठिन छ। ट्रम्प तपाईँको न्यूजफीडमा आउन व्यग्र छन् तर त्यो तत्काल सम्भव होला जस्तो छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *