उपभोक्ताको पानी पिउने धोकोमा मेलम्चीको बाढी बित्यास ! कहिले आउँछ मेलम्ची ?

उपेन्द्र शाही
२५ असार २०७८ ९:५९
564
Shares

काठमाडौं। सुरुवात भएको करिब दुई दशक पछि बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौं उपत्याकावासीले उपभोग गर्न पाए। खानेपानीको हाहाकारबाट सास्ती खेपिरहेका उपत्यकावासी उखान टुक्कामा सिमित भएको मेलम्चीको पानी उपभोग गर्न पाए पछि खुसीले दङ्ग भएका थिए। तर, त्यो खुसी सेलाउन नपाउँदै गत असार १ गतेदेखि पानी वितरण बन्द भयो।

परीक्षणकै क्रममा रहेकोले सुरुङ खाली गरेर दुई महिनापछि पानी पुन वितरण गर्ने प्रतिबद्धता जनाएको मेलम्ची खानेपानी विकास समिति अहिले भने पानी कहिले आउँछ भन्ने कुरामा स्यम् नै जवाफ विहीन बनेको छ। कारण हो, असारे भेल अर्थात प्राकृतिक विपत्तिले आयोजनामा पुर्‍याएको क्षतिले थपेको अनिश्चय। यो अनिश्चय र पानी आपूर्तिको समस्या पुरानै अवस्थामा फर्किए पछि मानिसहरु पुन : मेलम्ची कहिले आउँछ भन्ने चिन्तामा छन।

बाढीका कारण मेलम्चीमा ठूलो क्षति भएको थाहा भएको र वर्षा भइरहेकोले क्षतिको एकिन तथ्याकं उपलब्ध भइ नसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

पानी वितरण सुचारु कहिले देखि हुन्छ भन्ने प्रश्नको उत्तर दिँदै समितिका प्रवक्ता राजेन्द्र पन्तले पानी कहिले देखि आउँछ भन्ने कुरा यसै भन्न नसकिने बताए। आयोजनामा ठूलो क्षति भएको थाहा भए पनि हालसम्म क्षतिको एकिन विवरण संकलन गर्न नै नसकिएको उनले बताए।

उनले भने, ‘हामीले बैकल्पिक पानी वितरण प्रणाली मार्फत करिब तीन महिना काठमाडौं उपत्यकामा पानी चलायौँ। वर्षा याममा उक्त वैकल्पिक सञ्चालन प्रणालीमार्फत वितरण गर्न नसकिने पूर्वाअनुमान गरेर पानी वितरण बन्द गरिएको अवस्था थियो। र, सोही समयमा सुरुङ खालि गरेर परिक्षण गर्नका लागि हामीले कार्यतालिका बनाएर पानी वितरण बन्द गरेका थियौँ।’

‘पानी वितरण बन्द गरेकै दिन मेलम्ची नदिमा ठूलो बाढी आएर हेडवर्क्स निर्माणार्थ भएका कामहरु सबै पुरेको छ। करिब १० देखि १५ मिटरको सतहले नदी बढेको छ र भएका संरचना सबै परिएका छन्। हामीले वर्षा याम सकिएपछि स्थायी संरचनामार्फत पानी वितरण गर्ने योजनाका साथ काम अगाडि बढाएका थियौँ। तर, मनसुन सुरू हुनासाथ आएको बाढीले २ महीनाभित्र गर्ने कार्यतालिका पक्कै पनि प्रभावित भएको छ भने स्थायी संरचनाबाट गर्न खोजिएको काम अहिले असम्भव जस्तै भएको छ।’

उनले भने, ’हेडवक्र्स निर्माण गरिएको स्थायी बाँध गिट्टी र बालुवाले पूर्णरूपमा पुरिएको छ। अर्काे अस्थायी रूपमा बनाइएको बाँध बगेको छ भने अस्थायी रूपमा टनेलमार्फत डाइभर्सन गरेर ल्याइएको डाइभर्सन टनेलमा गिट्टी बालुवा थुप्रिएको छ र ठूला ठूला ढुङ्गाहरुले अड्किएका छन्। मुहान रहेको अम्बाथान अडिटमा पनि क्षति पुगेको अवस्था छ। फोहोर पानी भित्र पस्न सक्ने अनुमान गरेर बाढी आएकै दिन मुख्य सुरुङ बन्द गरिएकाले उक्त सुरुङ भने सुरक्षित छ।’

उनले क्षतिको एकिन विवरण नआए पनि करिब २ अर्ब जतिको आर्थिक क्षति भएको बताए। उनले भने,  ‘अहिले पानी कहिले आउँछ भन्न सक्ने अवस्थामा हामी छैनौँ। हामी क्षतिको आकलन तय गर्दैछौं। आयोजना स्थलमा प्राविधिक टोलीहरू गएका भएपनि प्रभावित क्षेत्रमा हामी अझै पुग्न सकेका छैनौँ। टाढाबाट हेर्दाखेरी संरचनाहरुको केही भागमात्रै देखिएको छ। दुई पटक ड्रोनको सहायताबाट अवलोकन गरिएको छ। क्षति कति भएको छ र अब मर्मत सम्भारको लागि के कति र कसरी गर्ने भन्ने कार्य अझै अनिर्णीत छ।’

‘त्यसैले अहिले नै यति अवधिभित्र पानी आउँछ भन्न सक्ने अवस्था छैन। तथापि पुनः पानी ल्याउन असाध्यै धेरै समय लाग्ने भन्ने चाहिँ बिल्कुल होइन। हामीले पुन: बैकल्पिक संरचनाबाट नै पानी ल्याउने छौँ। अब यो वर्षा याम सकिएपछि करिब असोजसम्म पानी वितरण सुचारु हुन सक्छ,’ उनले भने।

उनले अहिले अस्थायी संरचनाबाट पानी ल्याउँदा करिब एक अर्ब जति लाग्ने अनुमान गरिएको बताए। मेलम्ची आयोजनासँग भएको स्रोत, साधन र बजेट अप्रयाप्त रहेको बताउँदै उनले त्यसको लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, नेपाली सेनालगायतको अन्य निकायको सहयोग पनि उत्तिकै खाँचो रहेको बताए।

वर्षा सकिएपछि लगत्तै हामीले टनेलमा रहेको लेदो बाहिर निकाल्न, बेलिब्रिज राख्न र भत्किएको सडक मर्मतको काम गर्नुपर्ने हुन्छ। उक्त काम समयमै सम्पन्न भएमा छिट्टै टनेल खाली गरेर पानी ल्याउन सकिने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.