गर्भवतीको मृत्युपछि पेटको बच्चा गायब ! शरीरमा अपरेशन गरेर बच्चा निकालेको संकेत छैन

डिसी नेपाल
२६ असार २०७८ १४:४३
6.2k
Shares

काठमाडौं। २३ वर्षकी गर्भवती महिलाको लाश भेटिँदा उनको पेटको शिशु गायब भएको पाइएपछि यो घटना निकै रहस्यमय बनेको छ । मृतक महिलाको शरीरमा अपरेशन गरेर बच्चा निकालेको कुनै किसिमको घाउ नभेटिएपछि घटनामा रहस्य झनै थपिएको छ । ब्राजिलको रियो द जेनेरियोकी २३ वर्षकी थायसा क्याम्पोस मृत भेटिने समयमा उनी ८ महिनाकी गर्भवती थिइन् ।

थायसाको मृत्यु गएको सेप्टेम्बरमा भएको थियो । तर, उनको लाश भेटिँदा उनको पेटमा रहेकी छोरी गायब भएको कुराको खुलासा अहिले मात्र भएको हो । द सनमा प्रकाशित एक रिपोर्टअनुसार ब्राजिलियन पुलिसले थायसाले प्राकृतिक रुपमै बच्चा जन्माएको विश्वास गरेको छ । तर, ती नवजात बच्ची कहाँ गइन् भन्ने कुराको खुलासा अहिलेसम्म हुन सकेको छैन ।

पुलिसले मर्नुभन्दा अगाडि थायसाले बच्चा जन्माएको र सम्भवतः बच्चीकै लागि थायसाको हत्या भएको हुन सक्ने बताएको छ । पोस्टमार्टम रिपोर्टमा पनि उनको पेटमा रहेकी छोरी अपरेसन गरेर निकालिएको होइन भन्ने पुष्टि भएको छ । २ सन्तानकी आमा थायसाका ती छोराछोरीका पितासँग छुट्टिइसकेकी थिइन् । अर्कै एक विवाहित पुरुषसँगको सम्बन्धपछि थायसा तेस्रो पटक गर्भवती भएकी थिइन् ।

थायसा गएको सेप्टेम्बर ३ का दिन अचानक हराएकी थिइन् । १० सेप्टेम्बरमा उनको सडिसकेको लास भेटिएको थियो । रियो द जेनेरियो स्टेट युनिभर्सिटीका फरेन्सिक मेडिसिनका प्रोफेसर नेल्सन मासिनीका अनुसार घटनाले देखाउने सबैभन्दा बलियो सम्भावना भनेको नवजात बालिकाको अपहरण गरिएको हुन सक्छ ।

प्रोफेसर मासिनीले सम्भवतः थायसाको हत्या गर्ने बेला उनलाई सुत्केरी व्यथा लागेको हुन सक्ने र त्यही बेला उनले बच्चा जन्माएको हुन सक्ने बताए । थायसाकी आमा ज्याकलिन क्याम्पोसले आफ्नी नातिनी अहिले पनि जीवितै हुन सक्ने बताइन् । उनका अनुसार अस्पतालको मुर्दाघरमा मात्र उनले थायसाले बच्चा जन्माइसकेको थाहा पाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *