मान्छे बुढो हुनबाट रोक्ने ट्याब्लेट औषधिको क्लिनिकल ट्रायल गरिँदै

डिसी नेपाल
२६ असार २०७८ १६:४६
1.2k
Shares

काठमाडौं। अमेरिकी सेनाले यस्तो औषधिको क्लिनिकल ट्रायल गर्न लागेको छ जसले मानिसको उमेर बढ्नबाट रोक्नेछ । यो एन्टि एजिङ पिलले चोटलाई पनि छिटो निको हुन सहयोग गर्नेछ । यो औषधि अमेरिकी सेनाको विशेष अपरेशन कमाण्ड सोकोमले बनाएको हो । अमेरिकी रक्षा मन्त्रालयले सैनिकको क्षमता बढाउनको लागि यो औषधि बनाइरहेको छ । यो पेन्टागनको त्यो परियोजना अन्तर्गत भइरहेको छ जसमा मानवीय प्रदर्शनलाई उल्लेख्य रुपमा सुधार गर्ने क्षेत्रमा काम भइरहेको छ ।

सोकोम प्रवक्ता नेवी कमाण्डर टिम हकिंग्सले ब्रेकिङ डिफेन्सलाई बताएअनुसार यो औषधिको परीक्षण २०२२ मा सुरु गर्ने तयारी भएको छ । यो औषधिले मानव शरीरमा निकोटिनामाइन एडेनिन डाइन्युक्लियोटाइड (एनएडी प्लस) को स्तर बढ्छ । यो एक को इन्जाइम हो जो मेटाबोलिज्मको लागि महत्वपूर्ण हुन्छ । यो औषधिमा न्युट्रास्युटिकल्सको प्रयोग गरिएको छ । न्युट्रास्युटिकल्स खानेकुराबाट निकालिन्छ र यसमा पोषक तत्व र औषधीय गुण भरपुर हुन्छन् ।

शोधकर्ताहरुले जनावरमा गरेको क्लिनिकल ट्रायलमा एनएडी प्लस उल्लेख्य रुपमा वृद्धि भएको पाएका छन् । त्यसैले मानिसमा पनि यसको नतिजा राम्रो आउने अपेक्षा गरिएको छ । यो औषधिबाट न्युरोडिजेनेरेसन अर्थात स्नायु प्रणाली बुढो हुने प्रक्रियामा कमी ल्याउन सफलता प्राप्त हुन सक्छ । सोकोमका प्रवक्ता हकिंग्सका अनुसार यो औषधिको प्रयोग सैनिक र आम नागरिक दुवैको लागि गर्न सकिनेछ । यो औषधि बनाउनको लागि सेनाले बायोटेक ल्याब मेट्रो इन्टरनेशनल बायोकेमसँग सहकार्य गरिरहेको छ ।

सोकोम प्रवक्ता हकिंग्सका अनुसार यो प्रयास मानिसमा प्राकृतिक रुपमा नभएका क्षमता ल्याउने प्रयास होइन । यो त मानिसमा भएको क्षमता उमेर बढ्दै जाँदा घट्ने प्रक्रियालाई रोकेर उमेरका कारण घटेको क्षमता फर्काउने प्रयास हो । यसबाट सेनालाई अझै प्रभावकारी रुपमा तयार गर्न सकिने अपेक्षा गरिएको छ । यो औषधिको प्रयोगले गम्भीर घाउ पनि छिटो निको हुनेछन् । यसो हुँदा उनीहरु छिटो निको भएर काममा फर्किन सक्छन् । शोधकर्ताहरुले सैनिकहरुको शरीरमा एनएडी प्लस बढ्दा उनीहरुको शारीरिक र मानसिक फिटनेस पनि बढ्ने दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *