पहिलो ऐन संग्रहमा काठमाडौँ महानगरका १५ बटा कानुन
काठमाडौं। काठमाडौँ महानगरपालिकाले अहिलेसम्म जारी गरेका १५ वटा ऐनहरुको संग्रह ‘काठमाडौँ महानगरपालिका ऐन संग्रह ०७८’ सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रिय सभा गृहमा सम्पन्न महानगरको नवौँ अधिवेसनको छैटौँ बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले संयुृक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन्।
२०७५ जेठ २४ गतेदेखि २०७७ चैत २५ गतेबीचका ऐन नगर सभाबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन गरिएका ऐनहरुलाई संग्रहमा संग्रहित गरिएको छ। पहिलो ऐन ०७४ सालमा ‘सहकारी ऐन ०७४’ जारी भएको थियो भने अहिलेसम्मका लागि अन्तिम ऐन ०७५ जेठ २५ गते स्थानीय राजपत्रमा प्रकाशन भएको कर्मचारी सेवा ऐन ०७७ हो।
शासकीय व्यवस्था परिवर्तन भएपछि गठित स्थानीय सरकारले जारी गर्नुपर्ने र अहिलेसम्म जारी भएका ऐन संग्रहमा संग्रहित छन्। यी ऐनहरु यसअघि स्थानीय राजपत्रमा प्रकाशन भइसकेका छन्। कानुनका किताब धेरै हुँदा अध्ययन र व्यवस्थापन गर्न कठिन हुने भएकोले धेरै ऐन भेला गरेर संग्रह प्रकाशनमा ल्याइएको कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको भनाइ छ।
संग्रहित ऐनमा १५ वटा कानुन छन्। नगर सभाको पहिलो अधिवेसनदेखि बैठकदेखि नवौँ अधिवेसनसम्म आइपुग्दा आर्थिक ऐन र विनियोजन ऐनबाहेक १५ वटा ऐन जारी भइसकेका छन्। आर्थिक ऐन र विनियोजन ऐन १ आर्थिक बर्षका लागि मात्र हुने भएकोले संग्रहमा नराखिएको विभागका प्रमुख आचार्यको भनाइ छ।
२०७५ सालमा ९ वटा ऐन जारी गरिए। यी ऐनहरु ‘राजस्व ऐन ०७५’, ‘विवाद निरुपण (कार्यविधि) ऐन ०७५’, ‘प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन ०७५’, ‘विकास समिति ऐन ०७५’ ‘शिक्षा ऐन ०७५’, ‘सवारी तथा यातायात व्यवस्थापन ऐन ०७५’, ‘सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन ०७५’, ‘विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन ०७५’, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन ०७५’ हुन्। यी ऐनहरु असार ३२ गते एउटा, साउन ९ गते ४ वटा र चैत २९ गते ४ वटा स्थानीय राजपत्रमा प्रकाशन भएका थिए।
२०७६ सालमा कुनै पनि ऐन जारी भएनन्। २०७७ सालमा ४ वटा ऐन जारी गरिए। यसरी जारी भएका ऐनहरुमा ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन ०७७’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७’, ‘संघ संस्था दर्ता तथा नियमन सम्बन्धि ऐन ०७७’, ‘कर्मचारी समायोजन ऐन ०७७’ र ‘कर्मचारी सेवा ऐन ०७७’ हुन्। यिनीहरुमध्ये २ वटा माघ १४ गते, एउटा चैत ९ गते र एउटा चैत २५ गते राजपत्रमा प्रकाशन भएका थिए। यी सबै ऐनहरु संग्रहमा संग्रहित छन्।
काठमाडौँ महानगरपालिका कानुन तथा मानव अधिकार विभाग पहिलो पटक १ हजार प्रति प्रकाशन यस संग्रहको मुल्य ५३० रुपैयाँ राखिएको छ। यसलाई कानुन किताब व्यवस्था समितिमा छापिएको हो।
महानगरको राजपत्र
महानगरले गरेका महत्वपूर्ण निर्णयहरु स्थानीय राजपत्रमार्फत प्रशासन हुने गरेका छन्। २०७४ पुस २६ गते बसेको कार्यपालिका बैठकले ‘महानगरले गरेका महत्वपूर्ण र सार्वजनिक सरोकारका निर्णयहरु स्थानीय राजपत्रमार्फत प्रकासन गर्न ‘स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४’ स्वीकृत गरेपछि यसैका आधारमा राजपत्र प्रकाशन भइरहेको हो।
राजपत्रको पहिलो अङ्क कामपा स्थानीय प्रकाशन कार्यविधिका नामबाट प्रकाशन गरिएको थियो। दोस्रो अङ्कदेखि स्थानीय राजपत्रका नामबाट प्रकाशन भयो।
३ भागमा प्रशासन हुने राजपत्रको पहिलो भागमा ऐन, बजेट तथा नीति, मापदण्ड, कार्यविधि जस्ता विषय समावेश गरिन्छन्। दास्रो भागमा सूचना, विज्ञप्ति, अधिकार प्रत्यायोजनलगायत विषय र तेस्रो भागमा पदपूर्ति, सरुवा, बढुवाजस्ता प्रकृतिका विषय प्रकाशन हुन्छन्।
०७४ चैत ५ गते प्रमाणीकरण भएको ‘काठमाडौँ महानगरपालिका सार्वजनिक खरिद नियमावली २०७४’ राजपत्रमा प्रकाशित महानगरको पहिलो दस्तावेज हो। त्यसै बर्षको चैत २३ गते प्रमुख विद्यासुन्दर शाक्यले नियमावलीे सार्वजनिक गर्नुभएको थियो। त्यसबेला २०७४ चैत अघि गरिएका निर्णयहरुलाई भाग १ मा समेटेर थप ७ वटा राजपत्र प्रकाशन गरिएका थिए।
नगर सभा सञ्चालन कार्यविधि २०७४, काठमाडौं महानगरको आर्थिक बर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम, स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, काठमाडौं महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७४, कार्यपालिका अन्तर्गत समिति, उपसमिति, गठन सम्बन्धी कार्यविधि २०७४, विनियोजन ऐन २०७४ र कार्य सम्पादन नियमावली २०७४ थिए।







डिसी नेपाल








Facebook Comment