दुईवटा गाउँमा ६ महिनाभित्र जमिन भासिएर १ सयभन्दा धेरै ठूला–ठूला सिंकहोल बने

डिसी नेपाल
२७ असार २०७८ १२:४०
3.1k
Shares

काठमाडौं। जमिन भासिएर ठूला ठूला खाल्डा बन्ने गरेका घटनाहरु हामीले देख्ने वा सुन्ने गरेका छौं । विभिन्न ठाउँमा जमिन भासिएर यस्ता खाल्डा अर्थात सिंकहोल बन्ने गरेका छन् । यस्ता २–४ वटा सिंकहोल बन्ने प्रक्रियालाई सामान्य प्रक्रियाका रुपमा लिने गरिन्छ । तर, युरोपेली देश क्रोएसियाका २ गाउँमा भने ६ महिनाको अवधिमा यस्ता १ सयभन्दा धेरै सिंकहोल बनेपछि यहाँ त्रासको अवस्था सृजना भएको छ ।

यहाँ गएको जनवरीदेखि अहिलेसम्म १०० भन्दा धेरै खाल्डा बनेका छन् । यीमध्ये केही सुख्खा र केही पानी भरिएका थिए । यीमध्ये करिब आधा खाल्डा गएको महिना मात्रै बनेका थिए । क्रोएसियाको मेसेनकानी र बोरोजेभिसी गाउँमा २०२१ सुरु भएदेखि नै जमिनमा अनौठो हलचल हुन थालेको थियो । मेसेनकानीमा अचानक एउटा ठूलो सिंकहोल बन्यो । यो सिंकहोल करिब ९८ फिट व्यासको र ४९ फिट गहिरो छ ।

मेसेनकानी क्रोएसियाको राजधानी जाग्रेबबाट करिब ४० किलोमिटर टाढा छ । यसको नजिकै बोरेजेभिसी गाउँ छ । यहाँ विस्तारै यस्ता सिंकहोलको संख्या बढ्दै गयो । बोरोजभिसीमा पनि ठूला खाल्डाहरु बन्न थाले । जनवरी महिना सकिँदासम्म यहाँ ५४ वटा सिंकहोल बनिसकेका थिए । यसको पुष्टि क्रोएसियाको जियोलोजिकल इन्स्टिच्युटले गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले मार्च महिनासम्म दुई गाउँको आसपास १०० भन्दा धेरै सिंकहोल बनेको बताएको थियो । मेसेनकेन गाउँका स्टोजोन क्रोसोजेभिकले मार्चमा रोयटर्ससँग कुरा गर्दै आफूहरु निकै खराब परिस्थितिमा रहेको बताएका थिए । स्टोजेनले आसपार बनेका सिंकहोलले कुनै दिन आफूहरुलाई निल्न सक्ने बताएका थिए । यी खाल्डाहरु निकै खतरनाक छन् किनकि यिनीहरु अचानक बन्छन् र त्यसमा पानी भरिन्छ ।

वैज्ञानिकहरुले यी सिंकहोलको सम्बन्ध क्रोएसियामा २०२० मा आएको भूकम्पसँग भएको बताएका छन् । यो भूकम्प ६.४ म्याग्नेच्युडको थियो । भूकम्पका कारण क्रोएसियामा ७ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्का क्रोएसियासहित छिमेकी देश बोस्निया र सर्वियामा पनि महसुस भएको थियो । सामान्यतया भूकम्पको धक्कापछि सिंकहोल बन्दैनन् । यी सिंकहोल जमिनमुनि क्याविटी वा गुफाहरु भएको ठाउँमा मात्र बन्छन् । क्रोएसियाको जमिन यस्तै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *