जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

डिसी नेपाल
२७ असार २०७८ १९:११
280
Shares

काठमाडौं। तत्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। जसपाको आधिकारिता विवाद निर्वाचन आयोगमा विचाराधीन रहेका बेला सो पार्टी नै खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो।

राजपाका तत्कालिन उपाध्यक्ष राजकुमार थापाका तर्फबाट अधिवक्ता हृदयराज मिश्रले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिट निवेदनमा राजपा र संघीय समाजवादी पार्टीको एकीकरण नै असंवैधानिक रहेकाले जसपा खारेज गर्न माग गरिएको छ। साथै राजपाको कार्य समितिको कुनै पनि पदाधिकारी हेरफेर गर्न नपाउने गरी अन्तरिम आदेश जारी गर्नसमेत माग गरिएको छ।

जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल भएपछि उपेन्द्र समूहले ठाकुरसहित ४ जनानेतालाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो।

तर, आयोगले उनीहरुमाथिको कारबाहीलाई वैध नगरेपछि उपेन्द्र समूहले पार्टी आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। सो निवेदनपछि निर्वाचन आयोगले ठाकुर र यादव पक्षलाई बोलाएर सहमतिको प्रयास गरेको थियो। तर, सो प्रयास सफल नभएपछि कानुनी व्यवस्था अनुसार जसपाको आधिकारिकता विवाद निरुपण गर्न प्रमुख आयुक्त दिनेश थपलियाको संयोजकत्वमा इजलास गठन भएको छ।

निर्वाचन आयोगमा विवाद चलिरहेका बेला सो पार्टी नै खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो। रिटमा यो मुद्दालाई अग्राधिकार दिनसमेत माग गरिएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.