दक्षिण अफ्रिकामा हिंसा नियन्त्रण गर्न सेना परिचालन

डिसी नेपाल
२९ असार २०७८ ७:४५
156
Shares

बीबीसी। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई ”हिंसाविरुद्ध उभिन” आह्वान गरेका छन्।पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै त्यहाँ हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। गत हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन्।

पसलहरू लुटिएका छन् भने भवनहरू आगजनीमा परेका छन्। खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ।

भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएका कारण उनलाई अदालतको अपहेलनामा दोषी ठहराइएको थियो। भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाइ १५ महिनाको जेल सजाय सुनाइएको थियो।

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने उनले अपेक्षा गरिरहेका छन्। तर त्यस्तो हुने सम्भावना भने कम रहेको कानुनका ज्ञाताहरूले बताइरहेका छन्।

राष्ट्रपति रामाफोसाले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन्।एउटा टेलिभिजन सम्बोधनका क्रममा रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९०को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो। जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ।

तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन्। सन् २०१८मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.