देउवाले सानो आकारको मन्त्रिमण्डल आजै गठन गर्ने
काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिएसँगै राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन्।
अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन्।
सर्वोच्चको यो फैसलापछि देउवा निवास बूढानीलकण्ठमा कांग्रेस सभापति देउवालाई बधाई दिनेको घुइँचो सुरु भएको छ। राष्ट्रपति कार्यालयबाट जानकारी पाएपछि देउवाले मंगलबारै साँझ ४ बजे सानो मन्त्रिपरिषद् बनाउने र गठबन्धनलाई निरन्तरता दिन कांग्रेस नेता मिन विश्वकर्माले बताए।
उनका अनुसार आजको मन्त्रिमण्डलमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव समूहबाट सानो मन्त्रिमण्डल बन्नेछ। कांग्रेसको तर्फबाट को को सरकारमा जाने भन्ने विषयमा छलफल भइरहेको बताए।
गठबन्धनका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने पार्टी एकिकरण सकारात्मक दिशातिर गएकाले तत्काल सरकारमा नजाने भएको छ। यद्यपि उनीहरुका लागि मन्त्रालय राखिदिने नेता विश्वकर्माले बताए।
बिगतको नजिर हेर्दा र गण्डकी प्रदेश सरकारको गठबन्धन हेर्दा मन्त्रालय बाँडफाडमा देउवाको पाँचौँ पटकको सत्ता यात्रा पनि सहज छैन। महत्वपूर्ण मानिएको गृह र अर्थ मन्त्रालयमा सबैको जनर जान्छ।
तर विश्वकर्माका अनुसार मन्त्रालय बाँडफाँडमा सकस भन्दा पनि प्रतिगमन बिरुद्धको जित,संविधान र लोकतन्त्रको जित भएकाले मन्त्रालयको जिम्मेवारमा अफ्टेरो नहुने दावा गर्छन्।
देउवा २०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए। २०५८ साउन ११ मा दोस्रो पटक र २०६१ जेठ २१ मा तेस्रो पटक र २०७४ जेठ २४ मा देउवा चौथो पटक प्रधानमन्त्री बनेका थिए । सोमबार अदालतको फैसला आएसँगै देउवा मुलुकको पाचौँ पटक प्रधानमन्त्री बन्न लागेका छन्।







डिसी नेपाल








Facebook Comment