देउवालाई विश्वासको मत दिन हामी बौलाएका छौं र ? : कर्ण
काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर समूहले देउवा सरकारलाई समर्थन नगर्ने भएको छ। सो समूहका नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरुले कुनै पनि हालतमा विश्वासको मत नदिने स्पष्ट पारेका छन्। उनले भने, ‘शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि हामी के बौलाएका छौं र ?’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरुको माग र मुद्दा सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कुनै पहल नगरेको गुनासो पोखे। उनले देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्च अदालतले दिएको परमादेशलाई पनि असंवैधानिकको संज्ञा दिए।
उनले भने, ‘यो फैसला संविधान टार्गेटेड छैन्। यो एउटा पक्ष टार्गेटेड हो। यो व्यक्ति टार्गेटेड हो। यो एउटा पक्षको लक्ष्यलाई मलजल गर्ने फैसला भयो।’ उनले अदालतको फैसला संविधानसम्म्त नभए पनि उक्त फैसलालाई मान्ने स्पष्ट पारे।
साक्षात्कारमा बोल्दै उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओाली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवादसमेत दिए। उनले भने, ‘उहाँहरुले फैसला स्विकार गर्नुभयो, र देशलाई द्वन्द्वबाट बचाउनुभयो।’ उनले प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद विस्तार गर्न चूनौती रहेको पनि सुनाए। उनले भने, ‘विपक्षी धेरै मजबुद छ। जथाभावी हिँड्न गाह्रो छ। यो सरकारसामू धेरै चूनौती र अवसर पनि छन्।’
उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने कुरा व्यक्तिगत राय भएको सुनाए। तर, यसबारेमा भोलि बस्ने पार्टीको बैठकले आवश्यक निर्णय लिने पनि कर्णले जानकारी दिए। उनले आफूहरुको अहिले पनि संविधान संशोधनलगायत महत्वपूर्ण मुद्दा बाँकी नै रहेकोले माग पूरा गराउन लागिपर्ने पनि बताए।







डिसी नेपाल








Facebook Comment