जर्मनीमा शताब्दी यताकै भिषण बाढी , ४५ जनाको मृत्यु, सयौं बेपत्ता, नेपालीहरु सुरक्षित
बर्लिन। जर्मनीको पश्चिमी क्षेत्रमा पर्ने नर्थराइन वेस्टफालेन र राइनलाण्ड फाल्च प्रान्तमा भिषण बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ। मौसम विभागका अनुसार शताब्दी यताकै भिषण बर्षापछि आएको बाढीका कारण अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी अझै बेपत्ता छन्।
मृत्यु हुनेमा एक दम्पत्ति उद्धारकर्ता समेत परेका छन्। आपतकाल घोषणा गरेर उद्धारकार्य जारी राखे पनि यातायात, विजुली, इन्टरनेट, सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धारमा कठिनाइ परेको सञ्चारमाध्यमहरुले जनाएका छन्। घरको छतछतमा उद्धारको पर्खाइमा रहेका स्थानीहरुलाई सेना प्रहरी, उद्धारकर्ताहरुले हेलिकप्टर मार्फत उद्धार जारी राखेका छन्।

२ लाख परिवार अहिले बिजुली, खानेपानीको अभावमा छन्। विद्यालयहरु बन्द गरिएका छन्, सडक यातायात, रेल यातायात सबै विच्छेद भएको छ। अस्पतालहरुमा पनि विजुली प्रवाह हुन नसक्दा विरामीहरुलाई समेत थप समस्या पर्न थालेपछि सो क्षेत्रका अस्पतालहरु समेत खालि गरेर सयौं विरामी अन्यत्र सार्न थालिएको छ। स्थानीहरुले मिडियामा यस्तो भयंकर र क्षति पुर्याउने गरी बाढि आएको आफूहरुले अहिलेसम्म नदेखेको बताएका छन्।
प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न सयौं अग्नी नियन्त्रक, उद्दारकर्मीहरु परिचालन गरिएको छ। यद्यपी जर्मन प्रहरीका अनुसार धेरै ब्यक्ती हराएको हुन सक्छन्। पुरानो राजधानी बोनको दक्षिण क्षेत्रमा पर्ने शुल्ड जिल्ला नदीको छेउमा रहेका ६ वटा घरहरू भत्किएका छन् भने २५ घर भत्कने खतरामा छन्। घर, गाडी, भौतिक संरचनाहरु बगाएको दृश्यहरु सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन्। अधिकारीहरूले बासिन्दाहरूलाई सकेसम्म घरको माथिल्लो तलामा सम्भव भए छतमा सर्न आग्रह गरेका छन्।

कोलोन, ट्रियर, सुल्ड, अव्हीलर जिल्ला बढी प्रभावित भएका छन् भने सारल्याण्ड प्रान्तका क्षेत्रहरू, मेक्लेनबर्ग–फोरपोम्मेन क्षेत्रलाई पनि बाढीसहितको आँधीबेहरी सतर्कतामा राखिएको छ। अहिलेसम्म नेपालीहरु यस भयकंर बाढीबाट गम्भीर रुपमा प्रभावित भएको जानकारी नआएको गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एवं प्रभावित प्रान्त राइनलाण्ड फाल्चका बासिन्दा बिजय मोक्तानले जानकारी दिए। नेपाली दूतावास बर्लीनले पनि अहिलेसम्म कतैबाट घटनामा नेपाली परेको बारे जानकारी नआएको जनाएको छ।

यसैगरी बेल्जियम र नेदरल्याण्डसमा पनि बाढिले क्षति पुर्याएको छ। बेल्जियममा ६ जनाको मृत्यु भएको छ भने दर्जन बढि घाइते भएका छन्।
यसैबीच अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एगेंला मर्केलले बाढी पीडितलाई सहयोगको लागि कुनै कसर बाँकी नराखिने बताएकी छन्। वासिंटन डिसिबाट प्रत्यक्ष सम्बोधन गर्दै चान्सलर मर्केलले अर्थमन्त्री ओलाफ सुल्चसँग कुरा भैसकेको र हर प्रकारका सहयोगको लागि सरकार तयार रहेको जानकारी गराइन्।
अहिलेको पहिलो कार्य भनेको पीडितहरुको उद्धार, धेरैभन्दा धेरैको ज्यान बचाउनु र प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्नु भएको बताउँदै उनले यसका लागि आफ्ना प्रान्तीय र स्थानीय सरकार सक्षम रहेको दावी गरिन्। पहिले ज्यान बचाउने कार्य सकिएसँगै पुनर्निमाणको कार्य सुरु गरिने उनले डिसीबाटै घोषणा गरेकी छन्।

तस्वीरहरु : जर्मन सञ्चारमाध्यम







डिसी नेपाल







Facebook Comment