कर्मचारी छिटो घर जाउन् र बच्चा जन्माउन् भनेर टिकटक, पबजी कम्पनीको नयाँ नियम

डिसी नेपाल
१ साउन २०७८ १५:०७
5.2k
Shares

काठमाडौं। विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनले केही दशक पहिले जनसंख्यामा रोक लगाउन निकै कडा नियम लागू गरेको थियो । त्यसपछि त्यहाँ प्रजनन दरमा निकै कमी आयो र यसको परिणामस्वरुप त्यहाँको धेरैजसो जनसंख्या अहिले वृद्धावस्थातर्फ अग्रसर छ । यही कारण अहिले चीन सरकारले प्रजननमा छुट दिएको छ । अब त्यहाँ एक दम्पतीले ३ जनासम्म बच्चा जन्माउन पाउँछन् ।

अब त्यहाँका युवा जोडीलाई बच्चा जन्माउन प्रोत्साहित गर्न थालिएको छ । चीनका ठूला कम्पनीहरुले अब कर्मचारीलाई आफूले काम गर्ने समयभन्दा बढी समय ओभरटाइम गर्न दिने प्रचलन हटाउन थालेका छन् । कर्मचारीहरुको व्यवसायिक र निजी जीवनमा सन्तुलन कायम गर्न भन्दै त्यहाँका प्रविधि कम्पनीहरुले विकेन्डमा ओभरटाइम गर्ने संस्कृति हटाउँदैछन् । यसको पछाडिको प्रमुख कारण युवा जोडीलाई धेरै पारिवारिक समय दिनु हो ताकि उनीहरु बच्चा जन्माउन् र परिवारलाई अगाडि बढाउन् ।

पछिल्लो पटक अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटकको माउ कम्पनी बाइटडान्सले विकेन्डमा ओभरटाइम गर्ने नीतिलाई रद्द गरेको छ । चीनले घट्दो प्रजनन दर बढाउने राष्ट्रिय नीति लिएको छ र कम्पनीले यही राष्ट्रिय उद्देश्यलाई सघाउन यस्तो निर्णय गरेको हो । यो नीति आउँदो अगष्ट १ देखि पूर्ण रुपमा लागू हुनेछ । अहिले चीनमा कर्मचारीहरु दिनमा १२ घण्टासम्म काम गर्छन् यसबाहेक विकेन्डमा विदाको समयमा पनि काम गर्छन् । तर, यी कम्पनीमा अब यसरी काम गर्न पाइने छैन ।

चिनियाँ अखबार स्ट्रेट टाइम्सका अनुसार त्यहाँका युवा जोडीले कामको अधिक बोझ महसुस गर्छन् जसको असर उनीहरुको निजी जीवनमा परिरहेको छ । गत वर्ष चीनको राष्ट्रिय प्रजनन दर १.३ को सबैभन्दा तल्लो स्तरमा झरेको थियो । यसको मुख्य कारण त्यहाँ ‘नेइ जुआन’लाई मानिएको थियो जसको अर्थ हुन्छ कि कम्पनीमा कर्मचारी अन्य कर्मचारीसँग प्रतिस्पर्धा गर्नको लागि दबाबमा आउँछन् ताकि उनीहरु पछि नपरुन् । विशेषज्ञहरुले ओभरटाइम संस्कृति हटाउँदा ‘नेइ जुआन’ कम हुने र यो कर्मचारीको लागि लाभदायक हुने बताएका छन् ।

चिनियाँ प्रविधि कम्पनी कुआइशोले गत महिना तथा लाइटस्पिड एण्ड क्वान्टम स्टुडियोले २ हप्ता पहिले ओभरटाइमका विषयमा नीतिगत परिवर्तनको घोषणा गरेका छन् । कुआइशो बाइटडान्सको प्रतिस्पर्धी कम्पनी हो । लाइटस्पिड एण्ड क्वान्टम स्टुडियो भिडियो गेम विकास गर्ने कम्पनी हो जसले लोकप्रिय गेम पबजी चलाउँछ । दुवै कम्पनीलाई चीनको ठूलो बहुराष्ट्रिय कम्पनी टेनसेन्टले समर्थन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *