महान्यायाधीवक्ता खातीको शपथग्रहण राष्ट्रपति कार्यालयमा किन भएन ?
काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि महान्यायाधीवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भए। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई विहीबार महान्यायाधीवक्तामा नियुक्त गरेकी थिइन्।
तर, यसअघिको परम्परालाई तोडेर महान्यायाधीवक्ता खातीको शपथग्रहण राष्ट्रपति कार्यालय शीतल निवासमा भएन। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबार खातीलाई महान्यायाधीवक्ताको शपथग्रहण गराए।
यसअघि शीतल निवासमा हुँदै आएको महान्यायाधीवक्ताको शपथग्रहण पहिलो पटक सर्वोच्चमा भएपछि त्यसमाथि चर्चा शुरु भएको छ। यसअघि राष्ट्रपति भण्डारीले देउवाको सरकार बनाउने दावी खारेज गरे पनि सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि राष्ट्रपति भण्डारी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न बाध्य भएकी थिइन्। त्यसैले पनि महान्यायाधीवक्ताको शपथग्रहण स्थलको विषयलाई लिएर टिकाटिप्पणी शुरु भएको हो।
राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले भने शपथग्रहण स्थलमा राष्ट्रपतिको अस्वीकृत नभई कोरोनाका कारण राष्ट्रपति कार्यालययमा धेरै भिडभाड नगर्ने यसअघिको समझदारी अनुसार नै महान्यायाधीवक्ताको शपथ शीतल निवासमा नभएके बताए।
उनले भने, ‘राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने कानुनी व्यवस्था भएकाबाहेकको शपथ ग्रहण सम्बन्धित कार्यालयमै गराउने यसअघि नै समझादारी भएको हो। र अर्को कुरा सम्बन्धित कार्यालयले शपथ ग्रहण स्थलका लागि अनुरोध गरे त्यसलाई शीतल निवासले अस्वीकार गर्ने भन्ने कुरा नै हुँदैन।’
देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेखित भाषाका कारण राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच टसल भएको थियो। राष्ट्रपति भण्डारीले देउवालाई संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको उल्लेख भएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए। र यो विवादले देउवाको शपथ ग्रहण २ घण्टा रोकिएको थियो।
शुरुदेखि नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच टसल देखिएकाले महान्यायाधीवक्ताको शपथ ग्रहण स्थलको विषयले पनि चर्चा पाएको हो।







डिसी नेपाल








Facebook Comment