सर्वसाधारणको जीउधनको सुरक्षा राज्यको पहिलो दायित्वः गृहमन्त्री खाँण
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा शुक्रबार गृह मन्त्रालयको निकायहरु मध्ये पहिलो अन्तरक्रिया तथा निरीक्षण भ्रमण गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले विपदमा काम गर्ने सरकारी संरचनाहरुबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।
उनले विपद कुनै पनि बेला आउनसक्ने हुनाले सोही अनुरुपको तयारी अवस्थाका लागि सचेतनाका कार्यक्रमहरु बढाउनुपर्ने धारणा व्यक्त गरे।
उनले गाउँ गाउँबाट विपद्को जनकारी तुरुन्तै पाउने संयन्त्रको विकास गरी मानवीय क्षतिलाई बचाउनुपर्नेमा जोड दिए। पछिल्लो समय पानी नपर्ने हिमाली भूभागमा पानी पर्ने जस्ता विपद्का कल्पना नगरेका जोखिम देखिन थालेको हुँदा बहुआयामिक ढङ्गले अघि बढ्नुपर्ने मन्त्री खाँणले बताए। उनले विपद्का विभिन्न पक्षका बारेमा अध्ययन हुनु आवश्यक रहेकोमा समेत जोड दिए।

गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनले विपद्सँग सम्बन्धित विज्ञहरु सहितको कर्मचारीहरु व्यवस्थापनको ढाँचामा प्राधिकरण जान आवश्यक रहेको औल्याए। विपद सम्बन्धी अध्ययन, अनुसन्धान र जोखिमको पहिचान गरी कामहरु त्यसतर्फ केन्द्रीत गर्नु जरुरी रहेको सचिव न्यौपानेको भनाइ थियो।
उक्त अवसरमा गृहमन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सह सचिब हुमकला पाण्डेले मनसुनजन्य विपद्का घटना, खोज, उद्धार र राहत तथा क्षतिको अवस्था र गृहमन्त्रालयबाट भएका कामहरुका बारेमा जानकारी गराएकी थिइन्।
त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका कामहरु, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराए। उनले प्राधिकरणको मौजुदा संगठन संरचनामा प्राविधिक जनशक्तिको अभाव रहेको मन्त्रीको ध्यानाकर्षण गराए। पछिल्लो समय जलवायू परिवर्तनका कारण विपद्का घटना बढ्दै गएको र नयाँ नयाँ स्वरुपमा देखा परेको भन्दै यसको जोखिम न्यूनीकरणमै ध्यान दिनुपर्नेमा पोखरेलले जोड दिए।







डिसी नेपाल








Facebook Comment