‘गाईको गहुँतले कोरोना निको हुन्न’ भन्दा मोदी सरकारले जेल हालेका पत्रकारलाई छाड्न आदेश

डिसी नेपाल
४ साउन २०७८ १४:०६
168
Shares

काठमाडौं। भारतको सर्वोच्च अदालतले सोमबार मणिपुरका पत्रकार एरेन्ड्रो लेचोम्बामलाई तत्काल रिहा गर्न आदेश दिएको छ । एरेन्ड्रो लेम्बोचामलाई एक फेसबुक पोस्टका कारण हिरासतमा लिइएको थियो । उनीमाथि मोदी सरकारले राष्ट्रिय सुरक्षा कानुन लगाएको थियो ।

पत्रकार तथा अभियन्ता एरेन्ड्रो लेचोम्बामले आफ्नो एक फेसबुक पोस्टमा ‘गाईको गोबर र गहुँतले कोरोनाको उपचार हुँदैन’ भनेका थिए । मणिपुर राज्यका भाजपा नेता एस टिकेन्द्र सिंहको कोरोनाभाइरसका कारण मृत्यु भएका बेला लेचोम्बामको यो फेसबुक पोस्ट आएको थियो ।

सुनुवाइका क्रममा न्यायाधीश चन्द्रचुडले भने ‘हामी यी व्यक्तिलाई एक दिन पनि हिरासतमा राख्ने अनुमति दिन सक्दैनौं । उनलाई यसको लागि एक रात पनि जेलमा राख्न सकिँदैन ।’ एसजीको अपिलमा भोलि रिहाइको मिति तोकिएको छ । बेन्चले स्पष्ट रुपमा याचिकाकर्तालाई हिरासतमा राख्नु उनको बाँच्ने अधिकारको उल्लंघन भएको भनेको छ ।

खासमा भाजपा नेताको मृत्युपछि एरेन्ड्रो लेचोम्बामले फेसबुकमा पोस्ट गरेका थिए । यो पोस्टलाई विवादित बनाउँदै स्थानीय भाजपा नेताहरुले उनीविरुद्ध उजुरी दिएका थिए । स्थानीय पुलिसले यसैका आधारमा मे महिनामा उनीमाथि मुद्दा दर्ता गरेको थियो । मे महिनादेखि नै एरेन्ड्रो जेलमा छन् ।

एरेन्ड्रोका पिताले सर्वोच्च अदालतमा उनको गिरफ्तारीविरुद्ध आवेदन दिएका थिए । सोही आवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले उनलाई तुरुन्त रिहाइको आदेश दिएको छ । भारतको मोदी सरकार र उनको पार्टी भाजपा हिन्दू अतिवादलाई समर्थन गर्छ । हालै एक रिपोर्टमा मोदीलाई प्रेस स्वतन्त्रता दबाउने खलपात्रहरुको सूचीमा समावेश गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *