गगन थापाले ‘डराइ–डराइ’ प्रधानमन्त्रीको विरोध गरे, समाचार लेख्ने पत्रकारलाई दोष लगाए
फाइल तस्विर
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार सरकारले गर्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइको विरोध गरेका छन् । तर, विरोध गर्दै गर्दा उनले निकै डराएकोजस्तो भाषा प्रयोग गरेका छन् । उनले प्रस्ट शब्दमा खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेर प्रधानमन्त्रीले गलत काम गरे भनेका छैनन् ।
उनले लेखेका छन् ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।’ थापाले प्रस्ट शब्दमा प्रधानमन्त्रीको यो भनाइ गलत हो भन्नुको सट्टा ‘प्रधानमन्त्रीले भनेकै होइनन् बरु प्रधानमन्त्रीको भनाइ भन्दै पत्रकारले गलत समाचार लेखेका हुन्’ भन्ने आशय व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार सरकारले गर्ने भनेर स्वयं खनाललाई टेलिफोनमा भनेको समाचार कुनै निजी मिडियाले नभइ सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको थियो ।
थापाले लेखेका छन् ‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कानून २०७५÷६÷२ गतेदेखि लागू भइसकेको छ।
यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।
जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ । झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं । मलाई विश्वास छ हाम्रो चाहना छिटै पूरा हुनेछ ।
उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पंक्ति लागिरहेकै छ । उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।
सम्माननीय प्रधानमन्त्रीज्यू, अतः कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरित गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।







डिसी नेपाल








Facebook Comment