बलात्कारको मुद्दा अदालतमा विचाराधीन, यता डिआइजी बढुवा
काठमाडौं । अदालतबाट हाजिर जमानी छुटेको एसएसपी सौरभ राणालाई नेपाल प्रहरीले डिआइजी बढुवामा सिफारिस गरेको छ । धरानकी एक युवतीको जाहेरीमा सुनसरी जिल्ला अदालतमा मुद्दा कायमै रहेको र अदालतले बोलाएको बेलामा हाजिर हुने गरी छाडेको अवस्थामा उनलाई प्रहरी प्रधानकार्यालयले डिआइजी बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा पटक पटक विवादमा आइरहने एसएसपी राणालाई डिआइजीमा सिफारिस गरेपछि इमानदार प्रहरी अधिकारीहरु निराश भएका छन् । डिआइजी सहकुल थापालाई एआइजीमा बढुवा गरेपछि रिक्त एक डिआईजी पदमा राणा बढुवा सिफारिस भएका हुन् । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा विहिबार बसेको बढुवा समितिले राणालाई बढुवा सिफारिस गरेको हो ।
एसएसपी राणा आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । २ बर्षअघि संघीय प्रहरी इकाइ धरानमा कार्यरत रहँदा एएसपी राणालाई धरानकी एक महिलामाथि यौनशोषण गरेको आरोपमा पक्राउ गरिएको थियो । रिक्त एक डीआइजीका लागि सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली, दीपक थापादेखि भीम ढकाल, किरण बज्राचार्य, मीरा चौधरीसम्म दौडमा थिए ।
२०७६ कात्तिकमा धरानकी ती युवतीले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । त्यसपछि माघमा उनलाई निलम्बन गरी अनुसन्धान शुरु गरिएको थियो । संघीय प्रहरी इकाइ सुनसरीमा कार्यरत राणाले स्थानीय एक महिलामाथि यौन शोषण गरेको उजुरी प्रहरी मुख्यालयको उजुरी छानविन शाखामा परेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । हालका प्रहरी महानीरिक्षक तत्कालिन डीआइजी शैलेश क्षेत्रीले राणामाथि लागेको आरोपमा छानविन गर्न निलम्बनको सिफारिस गरेका थिए । तर उनको मुद्धा अहिलेसम्म अदालतमा कायमै रहेको बेला डिआइजी बढुवा सिफारिस गरिएको छ ।
जागिरे जीवनको अधिकांश समय विवादमा आएका राणालाई आइजीपी थापाले किन काखी च्यापिरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ । आफूलाई संगठनका ‘नेट एण्ड क्लिन’ आइजीपीको रुपमा चिनाउदै आएका थापाले आफ्नै ब्याचीलाई बढुवा गर्ने निर्णय गराएर वाहवाही पाउन खोजेका भएपनि राणाको गलत प्रवृत्तिमा उनलाई आँखा चिम्लनु पर्ने बाध्यता किन आइपरेको थियो भन्ने प्रश्न उठाइएको छ ।







डिसी नेपाल








Facebook Comment