आफ्नै पार्टी कार्यालय जान किन डराउँछन् देउवा ?

डिसी नेपाल
९ साउन २०७८ १६:२५
352
Shares

काठमाडौं। असार ५ मा काँग्रेस केन्द्रीय कार्यालयमा भएको पदाधिकारी बैठकपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सानेपा टेकेका छैनन्। असार ५ मा पार्टीको क्रियाशील सदस्यता छानबिनका लागि मापदण्ड तय गर्न पदाधिकारी बैठक बसेको थियो। सो बैठकले क्रियाशील सदस्यता छानबिनको टुंगो पनि लगाएको थियो। भलै हालसम्म पनि रमेश लेखकको संयोजकत्वमा रहेको समितिले आफ्नो काम सकेको छैन।

असार ५ यता आधादर्जन पटक काँग्रेसका बैठकहरु भएका छन्। तर ती सबै बैठक देउवाको निजी निवास बुढानिलकण्ठ र प्रधानमन्त्री निवास बालुवाटारमा भएका छन्। असार ३ मा प्रधानमन्त्री बनेका देउवा साउन १ बालुवाटार सरे। सोही दिन बालुवाटारमै काँग्रेस पदाधिकारी बैठक बस्यो। त्यसपछि पनि अर्को बैठक बालुवाटारमै भयो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीहरुले आफ्नो पार्टीको बैठक गर्न थालेपछि त्यसको व्यापाक विरोध भयो।

अघिल्लो सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा बालुवाटारमा पार्टीका बैठकहरु बाक्लै भए। देउवाले पनि त्यसलाई निरन्तरता दिएपछि देउवाको पनि आलोचना शुरु भयो। वृहत नागरिक समाजले त विज्ञप्ति जारी गरेरै बालुवाटारमा बैठक नगर्न सुझाव दियो। सामाजिक सञ्जालहरुमा व्यापक आलोचना भएपछि देउवाले अब उप्रान्त बालुवाटारमा पार्टीका औपचारिक बैठक नगर्ने निर्णय लिए।

बालुवाटरमा बैठक नगर्ने निर्णय लिएका देउवाले पार्टी केन्द्रीय कार्यालयमा भने बैठक गरेनन्। शुक्रबार र शनिबार पार्टी पदाधिकारीको बैठक देउवाको निजी निवास बुढानिलकण्ठमा भयो। प्रधानमन्त्री बनेपछि सभापति देउवाले पार्टीको मुख्याय जान किन डराइरहेका छन् भन्ने प्रश्नको उत्तर भने निकै रोचक छ। देउवा निकट एक नेताले डिसी नेपालसँग भने, ‘सुरक्षाको विषय हो। पार्टी कार्यालयमा काँग्रेस नेता तथा कार्यकर्ताहरु धर्ना र अनशन बसिरहेका छन्। त्यसैले पनि उहाँ (देउवा) सानेपा नजानु भएको हो।’

प्रधानमन्त्री बनेपछि देउवा कहिले कोटेश्वर र कहिले खुमलटार भने पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर देउवाले प्रचण्ड पत्नि सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका थिए भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास पुगेर देउवाले गठबन्धन सरकारका विषयमा छलफल गरेका थिए।

आफ्नै पार्टीका नेता तथा कार्यकर्तासँग डराएर देउवा पार्टी कार्यालय नगएका भने होइनन्। तर उनले आफू निकटहरुसँग धर्ना बसेका नेता कार्यकर्ताहरुलाई जवाफ दिनुपर्ने भएकाले नगएको बताउने गरेका छन्।

पार्टीको क्रियाशील सदस्यता विवादका कारण पार्टी कार्यालयमा विगत १३ दिनदेखि पूर्व सांसद पहिलो राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादव अनशन बसेका छन्। उनले धनुषामा पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा संस्थापन पक्षले विधान मिचेको आरोप लगाएका छन्। त्यहाँ यादवमात्र नभएर अन्य समूह पनि अनशनमा बसेका छन्। गत विहीबारदेखि त संस्थापन पक्षकै कार्यकर्ताहरु ‘काउन्टर’ धर्नामा छन्।

अनशन बसेका चन्द्रमोहनसँग भेट्न वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य शेखर कोइरालासम्म सानेपा पुगेका छन्। तर, देउवा भने उनीहरुलाई देख्न नपरोस भनेर पार्टी कार्यालय नै जान छाडेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.