एमालेमा ‘बाहुबली’ संगठन बनाउने होडबाजी
काठमाडौं। पुस ५ मा तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि नेकपाकै एक समूह ओली सरकारविरुद्ध सडक आन्दोलनमा उत्रियो। तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले सडक प्रदर्शनलाई तिब्रता दिएपछि ओली पक्षले पनि देशभर काउन्टर प्रदर्शनहरु गर्यो। कोरोना महामारीको जोखिम यथावत रहे पनि तत्कालिन नेकपाका दुबै समूहले सडकमा मानिस उतार्ने प्रतिस्पर्धा गरे।
यी प्रदर्शनहरुमा नेताहरुको सुरक्षाको जिम्मेवारी तत्कालिन युवा संघले लिएको थियो। अहिले अवस्था बदलिएको छ। नेकपा खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूउँतिएका छन्। ब्यूउँतिएको एमाले पनि दुई चिरामा छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार विस्थापित भएर काँग्र्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। यही समयमा अब एमालेलाई ‘बाहुबली’ संगठनको आवश्यकता परेको छ।
एमालेका अध्यक्ष ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल दुबै समूह बाहुबली संगठन बनाउन प्रतिपस्र्धामा लागेका छन्। ओली पक्षले गत असार २९ मा औपचारिक रुपमा विवादित संगठन युथ फोर्स ब्यूउँतायो। युवा संघका इन्चार्ज महेश बस्नेतले असार २९ मा औपचारिक रुपमा युथ फोर्स ब्यूउँताए। यूथफोर्सको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ चयन भएका छन्।
सो युथ फोर्सको शनिबार उपत्यका कमाण्ड घोषणा गरिएको छ। काठमाडौंमा शक्ति प्रदर्शन गर्दै उपत्यका कमाण्ड घोषणा गरिएको हो। पार्टी महासचिब ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा युथ फोर्सको उपत्यका कमाण्ड घोषणा गरिएको हो।
२०६२–०६३ को जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिक मुलधारमा आएको तत्कालिन विद्रोही माओवादीको योङ कम्यनिष्ट लिग (वाईसीएल)ले गुण्डागर्दी गरेपछि त्यसलाई काउन्टर दिन भन्दै युवा संघका तत्कालिन अध्यक्ष महेश बस्नेतले युथ फोर्स बनाएका थिए। युथ फोर्सले पनि वाईसीएलकै शैलीमा गुण्डागर्दी गरेपछि यसको पनि व्यापक आलोचना भएको थियो। केही वर्षपछि यी दुबै बाहुबली संगठन विघटन गरिएको थियो। अहिले फेरि एमालेले बाहुबली संगठनलाई ब्यूउँताएको हो।
ओली पक्षले युथ फोर्स ब्यूउँताएपछि माधव समूह पनि के कम। उसले पनि अखिल फोर्स नामको अर्को बाहुबली संगठन घोषणा गरेको छ। माधव समूहको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अखिल फोर्सको घोषणा गरेका थिए। त्यतिमात्र होइन, वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै उपस्थितिमा विपुल्स भोलेन्टिर नामको अर्को युवा संगठन पनि ब्यूउँताएको घोषणा गरेका छन्।
यसरी पार्टीमा बाहुबली संगठन बनाइएकोप्रति भने नेकपाकै नेताहरुको असन्तुष्टि छ। वरिष्ठ नेता माधव नेपाल निकट मानिएका एमाले सचिव योगेश भट्टराईले फेसबुकमा लामो स्टाटस लेल्खै पार्टीलाई किन बाहुबली संगठनको आवश्यकता भएको भन्दै प्रश्न गरेका छन्। उनले अनेरास्ववियु र युवा संघले देशको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेको र ती संगठन हुँदाहुँदै किन युथ फोर्स र अखिल फोर्स चाहिएको भन्दै प्रश्न उठाएका छन्। उनले दुबै संगठन विघटन गर्नसमेत माग गरेका छन्।







डिसी नेपाल








Facebook Comment