माधव समूहको निर्णयः सरकारमा नजाने, पार्टी एकतामा जोड दिने
काठमाडौं। नेकपा एमालेको माधव कुमार नेपाल समूहले सरकारमा नजाने निर्णय गरेको छ। दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। उनले भने, ‘हामी सत्ता पक्ष होइनौं। हामी विपक्षी गठबन्धनमा पनि छैनौं। हामी सरकारमा जाँदैनौं। यो विषयमा छलफल नै भएन।’
माधव समूहको यो केन्द्रीय कमिटी बैठकले वारपारको निर्णय गर्ने भनिए पनि त्यस्तो निर्णय भने गरेन। र माधव समूहलाई कुरेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तालाई रोकेको बेला माधव समूह्ले सरकारमा नजाने स्पष्ट पारेको छ।
बैठकका निर्णय सुनाउँदै उनले ४ वटा निर्णय भएको बताए। उनका अनुसार प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने, एमालेका दुबै पक्षका शीर्ष नेताहरुमाथि भइरहेको विवादास्पद टिप्पणीमा आपत्ति जनाउने, पार्टी एकतालाई अगाडि बढाउने र एमालेको संगठित सदस्यता नवीकरण तथा वितरण रोक्न माग गर्ने निर्णय भएको छ।
पन्तले भने, ‘पार्टीको समस्या समाधानका लागि धेरै कुरा मिलेको र अझ केही कुरा मिलाउन बाँकी रहेकाले एकताको प्रक्रियालाई अगाडि बढाउने निर्णय भएको छ।’ उनले १० बूँदे सहमतिलाई प्रगतिका रुपमा लिएको बताए। उनले कार्यदलका सदस्यहरु, अन्य नेताहरु र सांसदहरु विवाद समाधानका लागि प्रयासमा रहेको भन्दै पार्टी एकतामै जोड दिइएको बताए। तर, कहिलेसम्म एकता हुन्छ भन्ने मिति भने तोक्न नसकिने बताए। उनले एकता भावनात्मक हुनुपर्ने, सम्मानजनक हुनुपर्नें आफूहरुको कुरा रहेकोसमेत बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहले माधव समूहले बोलाएको बैठक अवैध भन्दै सो बैठकमा सहभागी नहुन नेता कार्यकर्तालाई आव्हान गरेको थियो। तर, माधव समूहले भने बैठक रोकेन।







डिसी नेपाल








Facebook Comment