ओस्कार विजेता फिल्ममा काम गरेका दिग्गज अभिनेता अनुपम श्यामको निधन
काठमाडौं । दिग्गज कलाकार अनुपम श्यामको निधन भएको छ । ६३ वर्षका अनुपम लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । मुम्बइको गोरेगांवस्थित लाइफलाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । मन की आवाज प्रतिज्ञा सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट सबैभन्दा धेरै प्रसिद्धि पाएका अनुपमको निधनको जानकारी फिल्म निर्माता अशोक पण्डितले दिएका छन् ।
पण्डितले अनुपमको मल्टिपल अर्गन फेलियरका कारण निधन भएको र यसबाट टेलिभिजन र फिल्म उद्योगलाई ठूलो क्षति भएको बताएका छन् । गत वर्ष मात्रै अनुपमलाई अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनका भाइले खराब आर्थिक स्थिति भएको बताउँदै सहयोगको अपिल गरेका थिए । उपचारपछि उनको स्थिति केही स्थिर भएको थियो । उनलाई हप्तामा ३ पटक डायलासिस गर्नुपर्थ्यो ।
अनुपम श्यामको जन्म १९५७ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनले फिल्ममा धेरैजसो नकारात्मक भूमिका पाए । उनले केही अन्तर्राष्ट्रिय फिल्ममा पनि काम गरे । ओस्कार विजेता फिल्म स्लमडग मिलियनेयर, द लिटिल बुद्ध जस्ता अन्तर्राष्ट्रिय फिल्ममा उनले काम गरेका छन् । यसबाहेक उनले दर्जनौं हिन्दी फिल्ममा काम गरेका छन् ।







डिसी नेपाल







Facebook Comment