कांग्रेस महाधिवेशन मंसिरसम्म गर्न संस्थापन पक्षको अडान

डिसी नेपाल
२९ साउन २०७८ २०:०७
112
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शनिबार पूनः बस्नेगरी सकिएको छ । शुक्रबार बसकाे  बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच छलफल भएको छ । यसअघि सार्वजनिक कार्यतालिकाअनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि तल्ला तहका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन्।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको  केन्द्रीय समिति बैठकमा कांग्रेस महाधिवेशनसहित सरकारका कामकारबाहीलगायतबारे पनि केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह तामाङ, जंगीलाल राय, रामजनम चौधरी र हेमराज तातेडले धारणा राखेका छन्। यस्तै केन्द्रीय आमन्त्रित सदस्यहरु हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले आ–आफ्नो धारणा राखेका थिए ।

कांग्रेसले केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि मात्रै १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि सबैको धारणा समेटेर बैठकमा प्रस्ताव गरिने बताए । शुक्रबारको बैठकमा संस्थापन समूहले आउँदो मंसिरभित्र महाधिवेशन गर्नेतर्फ जोड दिएका छन् । संस्थापनइतर समूहले भने दशैँ भन्दा अघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा डा. शेखर कोइरालाले विशेष महाधिवेशनतर्फ भन्दा पनि नियमित महाधिवेशनमै अगाडि बढ्नुपर्ने बताए। उनले एक महिना हुँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार नगरेकोमा आलोचना समेत गरेका थिए।

बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा समेत गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.