काबुलको गेटमा पुगे तालिबानी, राष्ट्रपति अशरफ गनीले आज राजीनामा दिन सक्ने
काठमाडौं। अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आज पदबाट राजीनामा दिन सक्छन् । काबुलमा सूत्रले आज सरकारले राजीनामाको घोषणा गर्न सक्ने बताएको छ । यद्यपि हिजो अबेर रातीसम्म भने गनी अन्तिम समयसम्म राष्ट्रपति रहने बताइएको थियो ।
अहिले तालिबान र अफगानी सैन्य बलबीच मैदान सहरको गभर्नर कम्पाउण्डनजिक भीषण लडाइँ भइरहेको छ । मैदान सहरलाई देशको राजधानी काबुलको गेटवे पनि भनिन्छ । शनिबार बिहान तालिबानीले पक्तिया प्रान्तको राजधानी शरनालाई आफ्नो कब्जामा लिएका थिए । यससँगै तालिबान अब काबुलबाट केवल १ घण्टाको दूरीमा छन् ।
पक्तिया तालिबानको कब्जामा गएको १९ औं प्रान्त हो । पछिल्लो ७ दिनमा तालिबानले १८ प्रान्तमा कब्जा गरिसकेको छ । तालिबानका प्रवक्ताका अनुसार यी प्रान्तमा भीषण लडाइँपछि तालिबानले कब्जा गरेको हो । यहाँ भारी मात्रामा हतियार बरामद गरिएका छन् ।
कान्दाहारका गभर्नर रुहउल्लाह खानजादले तालिबानको अगाडि आत्मसमर्पण गरेका छन् । तालिबानले कान्दाहार प्रान्तको रेडियो र सरकारी टिभीको नाम फेरेर शरिया रेडियो बनाएका छन् । सरकारी कार्यालयमा तालिबानीले नियन्त्रण गरेका छन् ।
तालिबानका अनुसार हेरातमा सूचना विभागका कर्मचारी काममा फर्किएका छन् । तालिबानका अनुसार हेरातमा सक्रिय सबै मिडिया आउटलेटलाई जनसम्पर्क विभागसँग सम्पर्क गर्न भनिएको छ ।
तालिबानी काबुल विमानस्थलको निकै नजिक आइसकेका छन् । यस्तोमा तालिबानीले विमानस्थलमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । २ दिन पहिलेसम्म तालिबानीलाई काबुल पुग्न ९० दिन लाग्ने अनुमान गरिएको थियो । एक दिनपछि तालिबान काबुलबाट ३० दिनको दूरीमा आयो र त्यसको अर्को दिन काबुलमा कब्जा गर्ने नजिकै पुगेको छ ।
तालिबानको कब्जामा गएका प्रान्तबाट अफगानी सैनिक काबुल फर्किइरहेका छन् । तालिबानले आफ्ना लडाकुलाई काबुलतिर गइरहेका मानिसहरुको कागजपत्र जाँच गर्न निर्देशन दिएको छ । तालिबानी सूत्रले कैयौं ठाउँमा काबुलतिर फर्किइरहेका अफगानी सैनिकलाई निशाना बनाएको दावी गरेको छ ।
यही बीच अमेरिकाको पहिलो सैन्य दल काबुल पुगेको छ । तालिबानसँग लड्न अफगानी सैनिक नराम्रोसँग विफल भएका छन् । कैयौं प्रान्तमा सैनिकले लड्दै नलडी तालिबानको अगाडि आत्मसमर्पण गरेका छन् । तालिबानको गति देखेर अमेरिकी सरकारले आफ्ना नागरिकलाई काबुलबाट निकाल्नको लागि सैन्य दल पठाएको छ ।
एक दिन पहिले अमेरिकाको बाइडेन सरकारले एक महिनाभित्र काबुलमा पनि तालिबानको कब्जा हुने र अफगानिस्तानको सरकार ढल्ने आशंका गरेको थियो । यस्तो अवस्थामा अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई निकाल्न सरकारले ३ हजार सैनिकलाई फेरि अफगानिस्तान पठाउने भनेको थियो । अमेरिका सरकारले यो केवल अस्थायी मिसन भएको प्रस्ट पारेको छ ।
हेरात प्रान्तको पूरै सरकारले तालिबानको अगाडि आत्मसमर्थण गरेको छ । अफगानिस्तानमा हेरात प्रान्तका गभर्नर, पुलिस प्रमुख, एनडिएस कार्यालयका प्रमुखलाई तालिबानले हिरासतमा लिएका छन् । तालिबानविरुद्ध युद्धका प्रतीक रहेका ७५ वर्षका मोहम्मद इस्माइल खानलाई पनि तालिबानले गिरफ्तार गरेका छन् ।







डिसी नेपाल







Facebook Comment