प्रचण्डको प्रस्तावः गठबन्धनलाई निर्वाचनसम्म कायम राख्नेदेखि ओलीबाहेकका कम्युनिष्टहरुको एकीकरणसम्म (पूर्णपाठ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने निर्वाचनसम्म कायम राख्ने प्रस्ताव पेस गरेका छन् ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव पेस गरेका हुन्। बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख छ ।
आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् । उनले ओलीबाहेकका कम्युनिष्टहरुको एकीकरण गर्ने समेत बताएका छन् ।
एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् ।
यस्तै प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका हुन्।उक्त प्रस्तावमा आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने उल्लेख छ। यस्तै उक्त प्रस्तावमा भदौ मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना छ।
साथै कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय महाधिवेशन गर्ने लगाएतका कुराहरु प्रचण्डको प्रस्तावमा उल्लेख छ।







डिसी नेपाल








Facebook Comment