भारत र अमेरिकाप्रति मौन, ओलीप्रति आक्रामक प्रचण्ड, सरकार पूर्ण नहुनुमा देउवालाई दोष

डिसी नेपाल
३० साउन २०७८ २३:५७
1.8k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि यो पाला प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन शायद आफ्नै लागि अनौठो भयो होला ।

भूमिगत काल, शान्ति प्रक्रियायता र एमालेसंग एकीकृत भएपछिका पनि हरेकजसो केन्द्रीय कमिटीका बैठकमा प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनहरुमा अन्तर्राष्टिय परिस्थितिको मूल्यांकन गर्ने गरिएको हुन्थ्यो र हरेक प्रतिवेदनमा कहीँ न कहीँ विस्तारवादी शक्तिका रुपमा छिमेकी मुलुक भारत र साम्राज्यवादी शक्तिका रुपमा अमेरिकाको भूमिका र त्यसको नेपालमा पार्ने असरका बारेमा उल्लेख हुन्थ्यो । तर, यसपालि यी दुबै देशसँग उनी मौन छन् ।

अगष्ट १४ आजदेखि शुरु भएको पार्टी केन्द्रको बैठकमा प्रस्तुत भएको उनको राजनीतिक प्रतिवेदनमा भारतको विस्तारवादी चरित्र र हस्तक्षेपकारी भूमिकाबारे उनले एकशब्द पनि खर्च गरेका छैनन् । त्यसैगरी साम्राज्यवादी शक्ति भनेर सधैंभरि गाली गरिँदै आएको अमेरिका र उसको भूमिकाले कम्युनिष्ट आन्दोलनमा पार्ने प्रभाव र उनको पार्टीले त्यसको काउन्टरमा लिनुपर्ने नीतिबारे पनि यसपल्टको प्रतिवेदनमा प्रचण्डले ती देशहरुको नाम लिएर केही बोलेनन्, लेखेनन् ।

उनको प्रतिवेदनमा यसपालि भारतसँगको सीमा समस्या र अमेरिकी सहयोग प्रोजेक्ट एमसीसीको बारेमा एकलाइनमात्र उल्लेख छ । जसमा कुटनैतिक वार्ताका माध्यमबाट हल गर्न सकिने छ भनिएको छ । केही महिनाअघि भारतका लागि कम्फरटेवल सरकार आफूहरुले बनाइदिने भन्दै सार्वजानिक गरेका प्रचण्ड भारतीय हस्तक्षेपकारी नीतिबारे बोल्न डराएको उनको प्रतिवेदनले स्पष्ट पारेको छ ।

बरु उनको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने दम्भी, अहंकारी, पदलोलुप भन्दै अनेकौँ गाली बर्साइएको छ । प्रतिवेदन प्रस्तुत गर्नेक्रममा अध्यक्ष प्रचण्डले ओलीलाई प्रतिगमनकारी भन्दै प्रतिगमनविरोधी आन्दोलनको नेतृत्वले आफूले गरेको र देशभित्रका सबै शक्तिलाई आफूले आफ्नो नेतृत्वमा गोलबद्ध पार्न सकेको भन्दै पार्टी बैठकमा आफ्नो प्रसंसा गरेका थिए ।

उनले गणतन्त्रका लागि आफ्नै नेतृत्व सफल भएको र प्रतिगमनविरोधी आन्दोलन पनि आफ्नै नेतृत्वमा सफल पारेकोले नेकपा माओवादी केन्द्र बलियो हुनुपर्ने धारणा राखेका थिए । बोल्ने क्रममा उनले सिष्टम बसोस भनेर आफूले प्रधानमन्त्री पद ओलीलाई बाचुन्जेल खाउन भनेर छोडेको भएपनि ओलीले दम्भ देखाउने, पदलोलुप चरित्र देखाउने काम गरेकोले पार्टीभित्रै सचिवालयदेखि केन्द्रीय समितिमा अल्पमतमा पार्दै लगेर तत्कालीन नेकपामा पनि आफ्नो बहुमत पार्न सफल भएको तर्क प्रस्तुत गरेका थिए ।

अध्यक्ष प्रचण्डले राष्टपति विद्यादेवी भण्डारीलाई संविधानको उल्लंघन गर्दै लोकतन्त्रको हत्या गर्ने व्यक्ति भन्दै चर्को आलोचना गरेका थिए । उनले ओलीका गलत कामलाई आंखा चिम्लेर सदर गरेको र यसले लोकतन्त्रको हत्या भएको तर्क गरेका थिए ।

सरकार पूर्ण नहुनुमा देउवा कारक

सरकार गठन भएको एकमहिना वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउनुमा आफ्नो पार्टीको कुनै दोष नभएको अध्यक्ष प्रचण्डले खुलेरै बैठकमा बताएका थिए । केन्द्रीय सदस्यहरुलाई संबोधन गर्दै उनले प्रधानमन्त्री शेरवहादुर देउवाले नै ढिला गरेको बताएका थिए । “कांग्रेस पार्टीको केन्द्रीय समितिको बैठकपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा गर्नुभएको हो,” प्रचण्डले व्रिफिंग गर्दै भनेका थिए, “त्यसैगरी जनता समाजवादी पार्टीले पनि केन्द्रीय समितिको बैठक गरेर तय गर्ने भनेकाले ढिला भएको छ ।”

उनले आफ्नो पार्टीमा मन्त्रीका आकांक्षी धेरै भए पनि समस्या नभएको र आज नाम मागे आजै पठाउन सक्ने पनि बताएका थिए । सर्वदलीय बैठकमा मन्त्रीपरिषद् विस्तारबारेको छलफलमा माओवादी केन्द्रमा मात्र विवाद खासै नदेखिएको भन्दै अरु पार्टीका नेताले प्रशंशा गरेको पनि उनले सुनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.