अफगानिस्तानमा सत्ता हस्तान्तरणका लागि वार्ता सुरु, काबुल तालिबानीको घेराबन्दीमा

डिसी नेपाल
३१ साउन २०७८ १६:५१
4.4k
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबानी लडाकुहरुले राजधानी काबुललाई घेरा हालेका छन् । यससँगै तालिबानी नेतृत्व र अफगानिस्तानको सरकार पक्षबीच वार्ता सुरु भएको छ । अफगानी सरकारी अधिकारीहरु र तालिबानी नेतृत्वबीच शान्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा छलफल सुरु भएको अल जजीराले जनाएको छ ।

तालिबानी लडाकुहरुले आइतबार अफगानिस्तानको राजधानी काबुललाई घेरा हालेका हुन् । तर, उनीहरुले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि छलफल भइरहँदा काबुलमा कुनै किसिमको आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् । तालिबानले आफ्ना लडाकुहरुलाई कुनै किसिमका हिंसात्मक गतिविधिहरु नगर्न र यदि कसैले काबुल छाडेर जान चाहेको भए उनीहरुलाई सुरक्षित रुपमा जान दिन निर्देशन दिइएको बताएको छ ।

‘जबसम्म सत्ता हस्तान्तरणको प्रक्रिया पूरा हुँदैन तबसम्म काबुलको सुरक्षाको जिम्मेवारी अर्को पक्ष (वर्तमान अफगान सरकार) को हुनेछ’ तालिबानका एक प्रवक्ताले एक ट्वीटमा भनेका छन् । यो ट्वीटलगत्तै अफगान सरकारले पनि काबुलमा रक्तपात हुन नदिइ शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेर तालिबानलाई नियन्त्रण दिनको लागि छलफल भइरहेको बताएको छ ।

समाचार एजेन्सी एपीले अफगान सरकारको तर्फबाट वार्ताका लागि पूर्व राष्ट्रपतिहरु हमिद कारजाइ र अब्दुल्लाह अब्दुल्लाह समेत टोलीमा रहने जनाएको छ । यसबाहेक अरु को–को वार्तामा छन् भन्ने स्पष्ट छैन । तालिबानीको तर्फबाट पनि वार्तामा को–को सहभागी छन् भन्ने बताइएको छैन । काबुललाई घेरा हालेसँगै तालिकानले शान्तिपूर्ण सत्ता हस्तान्तरणको माग गर्दै सत्ता सहज रुपमा हस्तान्तरण भए कुनै किसिमको हिंसा नगर्ने बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *