अफगानिस्तानमा तालिबान कसरी यति चाँडै पकड बनाउन सफल भयो ?

डिसी नेपाल
३१ साउन २०७८ १७:३९
2.8k
Shares

बीबीसी । अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै लगेको गतिले कतिपयलाई आश्चर्यमा पारेको पाइन्छ। क्षेत्रीय राजधानीहरू सहजै ढलिरहेका छन्।

अफगान सरकारले आफ्नो पकड कायम राख्न सङ्घर्ष गरिरहेका बेला तालिबान विद्रोहीहरू राजधानी काबुलमा पनि प्रवेश गरेका छन्।

यसै साता चुहिएको एउटा अमेरिकी गुप्तचर निकायको प्रतिवेदनले राजधानी काबुलमा केही दिनमै आक्रमण हुन सक्ने र सरकार ९० दिनमा ढल्न सक्ने आकलन गरेको थियो।

यति चाँडै यस्तो अवस्था कसरी आयो त?

अमेरिका र यूकेसहित उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले पछिल्लो २० वर्षमा उल्लेख्य समय अफगान सुरक्षा फौजहरूलाई तालिम दिने र उनीहरूलाई सम्पन्न बनाउनमा बिताए।

अनगन्ती अमेरिकी र ब्रिटिश सैन्य अधिकारीहरूले थप शक्तिशाली अनि योग्य अफगान सेना निर्माण गरेको दाबी गरेका थिए।

तालिबानको तीव्र आरोह

  • अप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा

तालिबानको सामर्थ्य

सिद्धान्तत: धेरै सैनिक भएकाले अफगान सरकार बलियो हुनुपर्ने हो। तथ्याङ्क हेर्दा अफगान सुरक्षा फौजको सङ्ख्या ३,००,००० भन्दा बढी छ जसमा अफगान सेना, एअर फोर्स र प्रहरी समाविष्ट छन्। तर यथार्थमा भने अफगानिस्तानले सधैँ आफ्नो भर्ती लक्ष्य पूरा गर्न सङ्घर्ष गरेको छ।

हताहत हुने उच्च सङ्ख्या र भ्रष्टाचार लगायतका मुद्दाहरूका कारण अफगान सेना र प्रहरीको इतिहास त्यति राम्रो छैन। केही “बेइमान” कमान्डरहरूले हुँदै नभएका सुरक्षा अधिकारीहरूको तलबमा दाबी गरेको प्रसङ्ग समेत अफगानिस्तानमा छ।

रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूटका ज्याक वाट्लिङ आफूसँग कति सैन्य सङ्ख्या छ भन्ने विषयमा अफगान सेनालाई कहिल्यै पनि ठ्याक्कै थाहा नभएको बताउँछन्।

त्यसमाथि उपकरणहरूको स्याहार-सम्भार र सेनाको मनोबल कायम राख्न पनि समस्या भएको बताइन्छ। तालिबानको सङ्ख्या गणना गर्न झन् कठिन छ।

यूएस कम्ब्याटिङ टेररिजम सेन्टरले तालिबानसँग आफ्नै ६०,००० लडाकुहरू रहेको हुनसक्ने अनुमान गरेको छ। अन्य मिलिसिया समूह र समर्थकहरू जोडिँदा त्यो सङ्ख्या २,००,००० लाख नाघ्न सक्ने ठानिएको छ।

हतियार

लगानी र हतियारसम्बन्धी विषयमा पनि अफगान सरकार नै बलियो हुनुपर्ने हो। सेनाको तलब र उपकरणका लागि उसले मूलतः अमेरिकाबाट अर्बौँ डलर प्राप्त गरेको छ।

सन् २०२१ को जुलाई महिनाको प्रतिवेदनमा द स्पेशल इन्स्पेक्टर जेनरल फर अफगानिस्तानले ८८ अर्ब अमेरिकी डलरभन्दा बढी अफगानिस्तानको सुरक्षाका लागि खर्च भएको उल्लेख गरेको छ।

उसले थपेको छ: “तर त्यो रकम सबल रूपमा खर्च गरियो गरिएन भन्ने कुरा अन्ततोगत्वा रणभूमिको परिणामले देखाउनेछ।” अफगानिस्तानको एअर फोर्सले युद्ध मैदानमा महत्त्वपूर्ण फाइदा दिनुपर्ने हुन्छ।

तर उसलाई आफ्ना २११ वटा विमानको व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। तालिबान धेरैजसो लागुपदार्थ कारोबारबाट आएको रकममा निर्भर रहेको भए पनि उसलाई बाह्य विश्वको पनि समर्थन छ – खास गरी पाकिस्तानको।

भर्खरै तालिबानले अफगान सुरक्षा फौजका अस्त्र कब्जामा लिएको छ जसमा अमेरिकाले दिएका हातहतियार पनि समावेश छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *